Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भारतीय गोर्खा परिसंघ उत्तर–पूर्व क्षेत्रको आवासीय प्रशिक्षण गुवाहाटीमा सम्पन्न

भारतीय गोर्खा परिसंघ उत्तर–पूर्व क्षेत्रको आवासीय प्रशिक्षण गुवाहाटीमा सम्पन्न
नेतृत्व विकास, जातीय सशक्तिकरण र जनगणना सचेतनामा केन्द्रित कार्यक्रम

गुवाहाटी, जुलाई ६ | nelive24.in
भारतीय गोर्खा परिसंघ (BGP) उत्तर–पूर्व क्षेत्रको आयोजनामा असम राज्य समितिको आतिथ्यतामा गुवाहाटीको लोखरास्थित स्कलर्स इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (SITM) मा सम्पन्न दुईदिने आवासीय नेतृत्व तथा साङ्गठनिक प्रशिक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त प्रशिक्षण कार्यक्रममा उत्तर–पूर्वका ७ राज्य र असमका १६ जिल्लाबाट ६० भन्दा बढी गोर्खा युवा, महिला तथा अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम नेतृत्व विकास, जातीय सशक्तिकरण, संगठन व्यवस्थापन, संवाद कला, समाचार लेखन, महिला सहभागिता, तथा युवा नेतृत्व जस्ता विषयमा केन्द्रित थियो। प्रशिक्षण पावरप्वाइन्ट, लेखन अभ्यास, तथा अन्तरक्रियात्मक छलफलको माध्यमबाट सञ्चालन गरियो।

यस अवसरमा २०२६–२७ को जातीय जनगणनालाई लिएर महत्वपूर्ण प्रस्ताव पारित गर्दै “जात” कॉलममा जातिको नाम, “समुदाय” मा अनिवार्य रूपमा ‘गोर्खा’, र “भाषा” मा ‘गोर्खा/नेपाली’ लेख्न सम्पूर्ण गोर्खा समुदायलाई आह्वान गरियो।

कार्यक्रमको उद्घाटन गुवाहाटी उच्च न्यायालयका वरिष्ठ अधिवक्ता तथा BGP का राष्ट्रिय अध्यक्ष नित्यनन्द उपाध्यायले गर्नुभएको थियो। उहाँले परिसंघको उद्देश्य र गोर्खा समुदायप्रतिको योगदानबारे प्रकाश पार्नुभयो।

विशेष वक्ताका रूपमा सिलीगुड़ीका साहित्यकार तथा राष्ट्रिय महासचिव अभय खालिङ, शिक्षाविद् बिमल प्रधान, पूर्व बैंक प्रबन्धक प्रकाश दाहाल, ठेकेदार यमप्रसाद घिमिरे, महिला नेतृ लक्ष्मी सुवेदी, पत्रकार नन्द किराती देवान जस्ता विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो।

उत्तर–पूर्व क्षेत्रीय अध्यक्ष डा. दिलीप छेत्रीले कार्यक्रमको अध्यक्षता गर्दै गोर्खा जागरण गीतबाट शुभारम्भ र राष्ट्रिय गीतबाट समापन गरिएको बताउनु भयो।

स्मरणीय रहोस्, यो कार्यक्रम परिसंघको रजत जयन्ती वर्षमा उत्तर–पूर्व भारतमा गोर्खा सशक्तिकरण र एकताका लागि आयोजित महत्वपूर्ण आयोजनामध्ये एक हो। सहभागीहरूले तालिमबाट पाएको ज्ञानलाई स्थानीय संगठन सशक्तिकरणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Post a Comment

Previous Post Next Post