समर्पण – श्रद्धाञ्जलि सभा" सम्पन्न : गोर्खा समाजका अग्रज समाजसेवी स्व. लाल बहादुर सुब्बालाई भावपूर्ण श्रद्धाञ्जलि
ढेकियाजुलीमा सम्पन्न कार्यक्रममा अगोस, आग्सु, UGPO लगायत विभिन्न संगठनको उपस्थिति
ढेकियाजुली, शोणितपुर | १८ जुलाई २०२५
गोर्खा समाजका समर्पित समाजसेवी, संगठनात्मक एकताको आधारशिला तथा जातीय जागरणका अग्रदूत, ढेकियाजुली निवासी स्वर्गीय लाल बहादुर सुब्बा को सम्मानमा आयोजित "समर्पण – श्रद्धाञ्जलि सभा" एक भावपूर्ण वातावरणमा सम्पन्न भयो। असम गोर्खा सम्मेलन (अगोस) शोणितपुर जिल्ला समितिको मुख्य आयोजनामा सम्पन्न यस कार्यक्रममा समाजका विभिन्न अग्रज, संस्था प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्व. सुब्बाको सामाजिक योगदान, नेतृत्वशैली र जीवनका आदर्शहरूबारे चर्चा गरिँदै उहाँप्रति श्रद्धा प्रकट गरिएको थियो।
कार्यक्रमको सभापतित्व अगोस शोणितपुर जिल्ला अध्यक्ष गोकुल बस्नेतले गर्नु भयो भने संचालन आग्सु शोणितपुर जिल्ला समिति सदस्य रजत भारद्वाजले गर्नुभयो।
कार्यक्रमको सुरुवात स्व. सुब्बाको तस्बिरमा पुष्पाञ्जलि अर्पण र वन्ति प्रज्वलन गर्दै सेवानिवृत्त प्रशासनिक विषयक अधिकारी नरेश्वर उपाध्यायबाट गरियो। त्यसपछि सहभागी सम्पूर्ण अतिथिहरूले पालैपालो श्रद्धाञ्जलि अर्पण गरे।
सभामा विशेष अतिथिका रूपमा उपस्थित अगोस केन्द्रीय समितिका उपाध्यक्ष दिलु शर्मा, महासचिव जगदीश खनाल, हाम्रो प्रजाशक्ति राष्ट्रिय साप्ताहिकका सम्पादक अञ्जन उपाध्याय, आग्सु ढेकियाजुली आञ्चलिक समिति, भानुज्योति संघ ढेकियाजुली, लगायत संस्थाका पदाधिकारीहरूले स्व. सुब्बाको योगदानबारे समर्पित मन्तव्य व्यक्त गरे।
यस्तैगरी, *UGPO (United Gorkha People's Organization)*का तर्फबाट लाल बहादुर तामाङ र अन्य कार्यकर्ताहरूको उपस्थितिमा विशेष श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरियो। UGPO सल्लाहकार डॉ. हर्क बहादुर छेत्री र लीला मिश्रले उहाँको योगदानलाई सामाजिक एकताको उदाहरणका रूपमा स्मरण गरे।
कार्यक्रमको अन्त्यतिर
अगोस केन्द्रीय समिति, अगोस शोणितपुर जिल्ला समिति, अगोस ढेकियाजुली गाउँ शाखा, आग्सु ढेकियाजुली आञ्चलिक समिति, भानुज्योति संघ ढेकियाजुली, ढेकियाजुली ग्राम ब्लक कांग्रेस र UGPOका तर्फबाट
स्व. सुब्बाको परिवारलाई औपचारिक समवेदना पत्र अर्पण गरियो।
अन्त्यमा, शोक प्रार्थनासहित सभा विधिपूर्वक विसर्जन गरिएको थियो।
Post a Comment