भारतीय गोर्खा परिसंघ मोरीगाउँ जिल्ला समिति गठन अमलिघाटमा सम्पन्न साधारण सभा
अमलिघाट, मोरीगाउँ : भारतीय गोर्खा परिसंघ (भा.गो.प.) मोरीगाउँ जिल्ला समितिको नवगठनको लागि बुधबार अमलिघाट महिला समितिको कार्यालय प्राङ्गणमा समाजसेवी श्री धन छेत्रीको समन्वयमा एक विशेष साधारण सभा सम्पन्न भयो। करिब ४० जना सक्रिय सदस्यहरुको सहभागिताका साथ तीन घण्टा लामो चलिएको उक्त बैठकले एक सशक्त जिल्ला समिति गठन गर्ने निर्णय गर्यो।
बैठकको सभापतित्व वरिष्ठ समाजसेवी श्री छविलाल शर्माले गर्नुभयो। सर्वसम्मत निर्णयअनुसार श्री नारायण थापा अध्यक्ष र श्री ध्रुव रेग्मी मूल सचिवको रुपमा चयनगरि नयाँ मोरीगाउँ जिल्ला समिति गठन हुन्छ। उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरूमा निम्न व्यक्तित्वहरू रहेका थिएः डा. दिलीप क्षेत्री, भा.गो.प. उत्तर पूर्व जोन का अध्यक्ष, श्री अमर अधिकारी,अध्यक्ष भा.गो.प. असम प्रदेश , श्री लक्ष्मी भारद्वाज, भा.गो.प.का राष्ट्रिय संरक्षक, श्री धन क्षेत्री, अध्यक्ष, अमलिघाट कल्याण समितिका , अमलिघाट महिला समितिका पदाधिकारीगण, अन्य स्थानीय बुद्धिजीवी, समाजसेवी तथा प्रबुद्ध व्यक्तित्वहरू.
विशेष अतिथिको रूपमा उपस्थित हुनु भएका अखिल असम गोर्खा छात्र संघ (AAGSU) का साहित्य सचिव श्री दीपक दाहालले आफ्नो मन्तव्यमा देशव्यापी रुपमा गोर्खा संगठनको मजबुतीका लागि हरेक जिल्लामा भा.गो.प.को इकाई गठनको आवश्यकता औँल्याउनु भयो। उहाँले भन्नुभयो, "अरुणाचलदेखि गुजरात, कश्मीरदेखि कन्याकुमारीसम्म फैलिएको भारतीय गोर्खा समुदायलाई संगठित गर्न र राष्ट्रिय स्तरमा एकताको भावना अभिव्यक्त गर्न हरेक जिल्लामा संगठन विस्तार अति आवश्यक छ।" उहाँले भा.गो.प.को राष्ट्रिय तथा राज्यस्तरीय उपलब्धिहरू र परिषदीय मुद्दाहरूमा संगठनले खेलेको महत्वपूर्ण भूमिकाबारे पनि विस्तृत रूपमा जानकारी दिनुभयो। उहाँले संगठनको माध्यमबाट युवाहरूले सक्रिय भूमिकाबारे पनि विस्तृत रूपमा जानकारी दिनुभयो साथै, अखिल असम गोर्खा छात्र संघको मुखपत्रका सम्पादक श्री कमल ढकाल पनि कार्यक्रममा अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले गोर्खा समुदायको सशक्तिकरणका लागि दस्तावेजीकरण, सञ्चार र कथा निर्माणको महत्वबारे प्रकाश पार्नु भयो र संगठनको सञ्चार सञ्जाल बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो।
भा.गो.प. असम प्रदेश अध्यक्ष श्री अमर अधिकारीले कार्यक्रममा भारतीय गोर्खा परिषद्को जन्म इतिहास र असममा यसले खेलेको २५ वर्ष लामो भूमिकाको अवलोकन प्रस्तुत गर्नुभयो।
उहाँले पद्मश्री गीत उपाध्याय, दिवंगत पिताम्बर गुरुङदेखि लिएर आजसम्मको नेतृत्व र योगदानलाई स्मरण गर्दै भन्नुभयो, "भा.गो.प.ले विगत दुई दशकभन्दा बढी समयदेखि गोर्खा समुदायको हितका लागि संस्थागत ढाँचामा काम गर्दै आएको छ र यो संगठन अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम गोर्खा सम्मेलन, तथा असम नेपाली साहित्य सभा (ANSS)सँग सह–अस्तित्व गर्दै आफ्नै विशिष्ट संगठनात्मक विशेषतासहित काम गरिरहेको छ र आगामी दिनमा पनि यस्तै समन्वयपूर्ण भावनासहित अगाडि बढ्नेछ।" उहाँको मन्तव्यले संगठनहरूबीच समन्वय, सम्मान र साझा उद्देश्यप्रति प्रतिबद्धताको भावना झल्कायो।
बैठक अन्त्यमा सहभागीहरूद्वारा एकता, सक्रियता र राष्ट्रिय गोर्खा आन्दोलनमा योगदान पुर्याउने प्रतिबद्धतासहित सुदृढ कार्ययोजना तयार पार्ने निर्णय गरियो। यस जिल्लाको प्रबल इच्छा अनुरूप लामो पर्खाइ पछि बुधबार मरीगाउँ जिल्ला समिति भारतीय गोर्खा परिसंघ विधिबढ गठन हुन्छ।
Post a Comment