सरूपथारमा AAGSU द्वारा HS र HSLC परिक्षामा सफल विद्यार्थीहरू सम्मानित
सरूपथार, गोलाघाट : शैक्षिक उत्कृष्टता प्रति सम्मान व्यक्त गर्दै अखिल असम गोर्खा छात्र संघ (AAGSU) को सरूपथार आञ्चलिक समितिले हालै सम्पन्न हाई स्कूल लिभिङ सर्टिफिकेट (HSLC) र उच्च माध्यमिक (HS) परीक्षामा सफल भएका ७६ जना मेधावी विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच शनिबार सम्मानित गरेको छ। यो सम्मान समारोह दक्षिण गोलाघाट विकास खण्ड कार्यालयको सभागृहमा विद्यार्थी, उनीहरूका अभिभावक तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।
विशेष अतिथिका रूपमा उपस्थित सारूपथार सम जिल्ला सीमा दण्डाधिकारी तथा सहायक आयुक्त प्रियुम फुकनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै शिक्षाको आधारस्तम्भ, परीक्षा तयारी तथा उत्कृष्टताको लागि निरन्तर प्रयासबारे व्यावहारिक उदाहरणहरू प्रस्तुत गर्दै प्रेरणादायी मन्तव्य दिनुभयो स्रोत व्यक्तिका रूपमा उपस्थित डा. पल्लव प्लावन बोराले किशोरावस्थामा देखिने मानसिक चिन्ता व्यवस्थापन र सो अवधिमा प्रभावकारी अभिभावकत्वको भूमिकामाथि प्रकाश पार्नुभयो।
सरूपथारका प्रसिद्ध समाजसेवी जीवन चुतिया, विशेष अतिथिका रूपमा सहभागी हुँदै, विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आफ्नो विद्यार्थी जीवनका संघर्षका अनुभवहरू सुनाउँदै युवाहरूलाई लक्ष्यप्रति अडिग र संघर्षशील रहन प्रेरित गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई भविष्यमा आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
सहायक लेखा अधिकारी सुरज दुबाराले प्रतियोगी परीक्षाको लागि अध्ययन विधि, लोकसेवा र उच्च स्तरीय संस्थाहरूमा प्रवेश पाउने रणनीति सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभयो।
मुख्य अतिथि रूपमा उपस्थित हुँदै वरिष्ठ पुरस्कारप्राप्त सामुदायिक पत्रकार नन्द किराती देवानले विद्यार्थीसँगै अभिभावकहरूसँग एक विशेष क्यारियर मार्गदर्शन सत्रमा संवाद गर्नुभयो। वाहाँले उचित शैक्षिक धाराको चयन, व्यक्तिगत रुचिसँग मेल खाने क्यारियर लक्ष्यको निर्धारण, साथै वैकल्पिक पेसागत अवसरहरू र सीप विकासका सम्भावनाहरूको महत्त्वमाथि विशेष जोड दिनुभयो कार्यक्रममा उपस्थित प्रमुख व्यक्तित्वहरूमा वरिष्ठ पत्रकार तुलसी चुतिया, गोलाघाट जिल्ला AAGSU का मूलसचिव कर्ण लिम्बू, नव निर्वाचित सह सचिव आशिष क्षेत्री, गोलाघाट कलेज इकाई AAGSU का संस्थापक कार्यकारी अध्यक्ष सूर्य बराल, AAGSU नेता अमर लिम्बू, ऋतुपर्णा श्रेष्ठ तथा सारूपथार कलेजका एक प्राध्यापक पनि थिए।
कार्यक्रमको अध्यक्षता AAGSU सारूपथार आञ्चलिक समितिका सभापति गौतम क्षेत्रीले गर्नुभयो। महासचिव रोहन राईले समन्वय गर्नु भएको कार्यक्रममा कविता उपाध्यायले सञ्चालन गरेकी थिइन्। कार्यक्रमको समापनमा उपस्थित अतिथिहरूले विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश र आशीर्वाद प्रदान गर्दै यो दिनलाई विद्यार्थी र अभिभावकहरूको लागि एक अविस्मरणीय र प्रेरणादायी क्षण बनाएका थिए।
Post a Comment