Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

नेपाली विषयलाई NIOS को उच्चतर माध्यमिक पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढ्ने

नेपाली विषयलाई NIOS को उच्चतर माध्यमिक पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढ्ने

दार्जिलिङ नेपाली गर्ल्स सोशल सर्भिस सेन्टर (DNGSSC) द्वारा राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान (National Institute of Open Schooling – NIOS) अन्तर्गत उच्चतर माध्यमिक स्तरमा नेपाली विषय समावेश गर्न अनुरोध गर्दै पठाइएको निवेदनलाई लिएर हालै भारतीय केन्द्रीय शिक्षा मन्त्रालयमा मुद्दा उठाइएको थियो। सो अनुरोधमा नेपाली भाषा संविधानको आठौँ अनुसूचीमा मान्यताप्राप्त २२ आधिकारिक भाषामध्ये एक भएको उल्लेख गर्दै, NIOS को पाठ्यक्रममा समावेश गरिनुपर्ने आवश्यकता औँल्याइएको थियो।

यस सन्दर्भमा केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुकान्त मजुमदारसँग नेपाली भाषालाई उच्चतर माध्यमिक स्तरमा समावेश गर्नका लागि औपचारिक पहल गरिएको थियो। मन्त्रीसमक्ष राखिएको सशक्त तर्कमा संविधानमा भएको भाषिक मान्यताको आधारमा नेपाली विषयको समावेश राष्ट्रिय शिक्षा नीतिको भावना र दायित्वसँग मेल खाने कुरा स्पष्ट पारिएको थियो।

यसबीच, NIOS का चेयरपर्सन प्रोफेसर पङ्कज अरोड़ाले यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, “राष्ट्रीय शिक्षा नीति (NEP) २०२० र राष्ट्रीय पाठ्यक्रम संरचना (NCF) को परिकल्पनाअनुसार राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद (NCERT) संविधानमा अनुसूचित सबै भाषाहरूमा पाठ्यक्रम सामग्री विकास गर्ने प्रक्रियामा छ, र NIOS-ले पनि आफ्नो पाठ्यक्रम विकास कार्य NCERT सँग जोड़िरहेको छ। त्यसैले उच्चतर माध्यमिक स्तरमा नेपाली भाषालाई समावेश गर्ने विषयलाई यो व्यापक पाठ्यक्रम पहल पूरा भएलगत्तै अघि बढाइने छ।”

यो समाचारले नेपाली / गोर्खा भाषाप्रेमीहरूका लागि उत्साह थपेको छ। NIOS जस्तो प्रतिष्ठित शिक्षण संस्थामा नेपाली / गोर्खा विषय समावेश हुनु राष्ट्रिय भाषिक विविधताको सम्मानमा एक महत्त्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

यस विषयमा जानकारी दिँदै दार्जिलिङ लोक सभा संसदीय निर्वाचन क्षेत्रका माननीय सांसद श्री राजु बिष्ट भन्नु हुन्छ, 'शिक्षाविद्, अभिभावक, सामाजिक संस्था, समुदाय नेतृत्व, र हरेक नागरिकको कर्तव्य रहन्छ—आफ्नो भाषा र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्नु। भाषा केवल सञ्चारको माध्यम होइन, यो पहिचान, इतिहास र संस्कृतिक विरासतको संवाहक हो। नेपाली भाषाको सशक्तिकरणले भावी पुस्तालाई आफ्नो जरा र पहिचानसँग जोड्न सहयोग पुर्‍याउनेछ।' 

'समाजका सबै तहबाट नेपाली भाषालाई व्यवहारिक र शैक्षिक क्षेत्रमा जीवन्त राख्ने सामूहिक संकल्प आवश्यक रहेको सन्देश यस घटनाक्रमले दिएको छ।', विष्टले थपे। सामाजिक सञ्जालमा यस विषयमा संसद द्वारा राखिएको पत्राचार र विषय बाट यो जानकारी प्राप्त भएको हो।

Cr.नन्द किराती देवान 

Post a Comment

Previous Post Next Post