Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
असम खस महासभाद्वारा जातीय दुर्भावनापूर्ण टिप्पणीको घोर भर्त्सर्ना
गुवाहाटी, [nelive24] – सामाजिक सञ्जालको दुरुपयोग गर्दै जातीय दुर्भावना फैलाउने कार्यप्रति असम खस महासभाले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सर्ना गरेको छ। दार्जिलिङका सामसोन तामाङ नाम गरेका व्यक्तिले सिक्किम तथा पश्चिम बंगालको दार्जिलिङ पहाडमा खस बाहुन समुदायलाई लक्षित गर्दै गरेको अभद्र र अपमानजनक टिप्पणीले समाजमा विखण्डन ल्याउने गम्भीर प्रयास गरेको महासभाले जनाएको छ। खस बाहुन समुदाय मात्र होइन, सम्पूर्ण गोर्खा महाजातिको सम्मानमा आँच पुर्याउने यस्तो अभिव्यक्तिले स्थानीय सामाजिक सद्भावमाथि प्रहार गरेको महासभाको ठहर छ।
असम खस महासभाले यस्ता गतिविधिहरूलाई गम्भीरताका साथ लिँदै सिक्किम तथा दार्जिलिङका विभिन्न खस संघ-संस्थासँग निरन्तर समन्वय गरिरहेको छ। जातीय घृणा फैलाउने जुनसुकै अभिव्यक्तिलाई भारतको संविधानले अस्वीकार गर्ने उल्लेख गर्दै महासभाले दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई आह्वान गरेको छ। महासभाले जातीय सद्भाव कायम राख्न सम्पूर्ण समुदायलाई एकताबद्ध हुन अनुरोध गर्दै सामाजिक सञ्जालमा फैलाइएको यस्तो विषाक्त प्रचारको खण्डन गर्न आग्रह गरेको छ।
समाजलाई विभाजन गर्न खोज्ने कुनै पनि तत्वविरुद्ध महासभाले कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै जातीय, धार्मिक वा सम्प्रदायगत आधारमा गरिने कुनै पनि भड्काउने अभिव्यक्तिलाई अस्वीकार्य ठहर गरेको छ। खस महासभाले समुदायका सम्पूर्ण बुद्धिजीवी, सामाजिक अभियन्ता तथा राजनीतिक व्यक्तित्वहरूलाई पनि यस विषयमा सचेत रहन र जातीय सद्भाव भंग गर्ने तत्वहरूको भण्डाफोर गर्न आग्रह गरेको छ। समाजलाई स्थिर राख्न र भाइचाराको सम्बन्ध मजबुत बनाउन खस महासभाले सबै पक्षलाई संयमित रहन अपील गर्दै जातीय भड्काव रोक्न संविधानको दायराभित्र रही उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Post a Comment