Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
असम र सिक्किमका मुख्यमन्त्रीहरू प्रमुख अतिथि र सम्माननीय अतिथिका रूपमा सहभागी हुने
Nelive24 गोलाघाट, सरुपथार: उत्तर-पूर्व भारतका गोर्खाहरूको एकमात्र सर्वोच्च साहित्यिक संस्था, असम नेपाली साहित्य सभाले (अनेसास) आफ्नो ५० औँ वर्षको गौरवमय यात्रालाई स्मरण गर्दै यस वर्ष स्वर्ण जयन्ती समारोह आयोजना गर्दैछ। समारोह ५ देखि ८ डिसेम्बर २०२४ सम्म गोलाघाट जिल्लाको सरुपथारमा हुने तय गरिएको छ। ५० वर्षदेखि गोर्खा समुदायप्रतिको साहित्यिक सेवा र योगदानलाई निरन्तरता दिंदै, अनेसासले २०२४ जनवरी ४ मा यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
यो विशेष समारोहको प्रारम्भिक कार्यक्रममा, ‘लाइ खुट्टा स्थापना’ नामक परम्परागत समारोह सम्पन्न गरियो। यस कार्यक्रममा असम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडा, अखिल असम गोर्खा छात्र संघ (आगसु)का प्रतिनिधि , मुलसचिव राजु श्रेष्ठ असम गोर्खा सम्मेलन (एजीएस), भारतीय गोर्खा परिसंघ, र गोर्खा स्वायत्त परिषद् माग समिति (जीएसीडीसी) का प्रतिनिधिहरूको उपस्थितिमा सरुपथारको जनरल फिल्डमा सम्पन्न भयो। सह-जिल्ला आयुक्त अंकुर दास र अन्य अधिकारीहरू, गोलाघाट र ढाँसिरीका विभिन्न सामाजिक, साहित्यिक संस्थाका नेता, र सरुपथार र बडपथार नगर समितिका अध्यक्षहरू पनि समारोहमा सहभागी भएका थिए।
कार्यक्रममा सरुपथार क्षेत्रका विधायक विष्वजीत फुकन, मार्गेरिटा र बर्सोलाका गोर्खा विधायकहरू भास्कर शर्मा र गणेश कुमार लिम्बू, र असम सरकारका गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङले पनि उपस्थित जनाए। कार्यक्रममा प्रमुख अतिथि कामाख्या प्रसाद तासा, काजिरङ्गा लोकसभा क्षेत्रका सांसद थिए। तासाले समारोहको मुख्य स्तम्भ स्थापना गर्दै उद्घाटन गरे। यस पवित्र स्थानलाई शिक्षाविद, समाजसेवी, बीएमएस ग्रुपका संस्थापक र भारतीय गोर्खा लिगका संस्थापक सदस्य स्वर्गीय शिवाजी राईको स्मृतिमा ‘शिवाजी राई समन्वय क्षेत्र’ नामकरण गरिएको छ।
समारोहको स्वागत मन्तव्यमा अनेसास अध्यक्ष दुर्गा खतिवडाले समितिका विभिन्न विभागहरूको अथक प्रयासको प्रशंसा गर्दै यस महत्वपूर्ण समारोहको सफलताका लागि असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मालाई प्रमुख अतिथि र सिक्किमका मुख्यमन्त्रीलाई विशेष सम्माननीय अतिथि रूपमा निमन्त्रणा गरिएको घोषणा गरे। यस समारोहलाई सफल बनाउन उनले अन्य सामाजिक र साहित्यिक संघसंस्थाहरूको सहयोग र साथको अपेक्षा पनि गरे।
कार्यक्रममा अनेसासका उपाध्यक्ष तिलक शर्मा, जीएसीडीसीका उपाध्यक्ष दिल बहादुर लिम्बू र आगसुका महासचिव राजु श्रेष्ठलाई क्रमशः अध्यक्ष, कार्यवाहक अध्यक्ष, र महासचिवका रूपमा स्वर्ण जयन्ती स्वागत समितिको कार्यसमिति सदस्य चयन गरिएको थियो। सबै अतिथिहरूले समारोहमा दीप प्रज्वलन गर्दै गोर्खा पुर्खाहरूलाई पुष्प अर्पण गरे।
कार्यवाहक अध्यक्ष डा. चिन्तामणि शर्माले यस स्वर्ण जयन्ती समारोहमा विभिन्न गतिविधिहरूलाई समेट्दै ४ दिनसम्म चल्ने जानकारी गराए। यसमा उद्घाटन सत्र, अन्तरक्रिया, राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक सत्र, सामुदायिक संवाद, सांस्कृतिक आदानप्रदान, गोर्खा बहुजातीय प्रदर्शनी, ५०औँ वार्षिक साधारण सभा, र ८ डिसेम्बरको अन्तिम दिन खुला सत्रसहित समापन समारोह हुने जानकारी गराए। उनले यस संस्थाको लक्ष्य, उद्देश्य र हालसम्मको उपलब्धिहरूबारे पनि प्रकाश पारे।
नन्द किराती देवान
Post a Comment