Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज हरितालिका तीज: महादेवको पूजा आराधना गरी किन व्रत बसिन्छ? पढनुहोस्—

आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु गोर्खा महिलाको महान् पर्व हरितालिका तीज, देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ।
 
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने तीजको धार्मिक विश्वास छ।
 
भाद्र शुक्ल द्वितीयामा दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
 
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।
 
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ 'हरण गरिएको' र ‘आलिका’ शब्दको अर्थ 'साथी' भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन्। 
 
धर्मशास्त्रविद्हरूका अनुसार निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने भनाइ छ। 
 
विवाहित महिलाले अटल सौभाग्यका लागि तीजमा व्रत बस्छन्। यस्तै अविवाहित युवती र युवकले असल वर र बधू प्राप्तिका लागि तीजमा व्रत बस्छन्। 
 
नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन्।
 
सबैमा तीजको मंगलमय शुभकामना!

Post a Comment

Previous Post Next Post