आज दर खाने दिन। भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि गोर्खा नारीहरूले दर खाने परम्परा छ।
शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने 'दर' शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो। भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो। यही चलन अहिले आएर दर भएको हो।
नारीहरूले दर खाने दिन विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ। तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा अनि पौष्टिक तत्व भएका परिकारहरू खाने चलन नै दर हो।
दरको कुरा गर्दा सामान्यतया पकवानहरूमा ढकने, आलुदम, आलु–कबाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ। अझ विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ। माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा या भाउजूहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने रमाउने चलन छ।
वैदिक हिन्दु सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ।
साभार: हाम्रो पात्रो
Post a Comment