आज नेपाली साहित्य जगतका 'आदिकवि' भानुभक्त आचार्य (वि.सं. १८७१ असार २९ – वि.सं १९२५ असोज ६) को २१० औं जन्म जयन्ती। भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन्।
उनी वाल्मीकिद्वारा रचित रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषी जनतालाई ठूलो गुण लगाएका थिए। सरल नेपाली भाषामा गरिएको यो अनुवाद नेपाली भाषीहरुको लागि बुझ्न सहज भएको थियो। उनले अनुवाद गरेको रामायण अहिले पनि नेपाली भाषीहरुको घर–घरमा लयसाथ पाठ गरिन्छ।
मोतीराम भट्टले उनका रचनाहरुको पाण्डुलिपि खोजेर वि.सं.१९४८ मा प्रकाशित नगरेका भए भानुभक्त इतिहासमा हराउन पनि सक्थे। मोतिराम भट्टले नै उनलाई नेपाली भाषाका 'आदिकवि'को उपाधि दिएका थिए।
यता, वि.सं.२००६ को भानु जयन्तीको दिन सूर्यबिक्रम ज्ञवालीको सत्प्रयासले दार्जिलिङको चौरस्तामा भानुको सालिक उभियो।
नेपाली साहित्यमा असीम योगदान पुर्याउनु हुने 'आदिकवि' भानुभक्त आचार्यले आफ्ना अमर सृजनाहरुले साहित्यको ढुकुटी भर्नु मात्र होइन, विश्वभर छरिएर बस्ने नेपाली भाषीहरुलाई भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण समेत गरेका छन्।
समग्र विश्व लगायत भारतको पूर्वोत्तर राज्य असम लगायत दार्जिलिङ, सिक्किम अनि भारतको विभिन्न राज्यहरुमा पनि धुमधामका साथ आदिकविको २१० औं जन्म जयन्ती अर्थात् भानु जयन्ती मनाइएको देखियो।
Post a Comment