दार्जिलिङ, १६ मार्च: प्रख्यात चलचित्र निर्देशक प्रताव सुब्बा अब रहेनन्!
थाहा लागे अनुसार, नेपाली चलचित्र जगतका ख्यातिप्राप्त निर्देशक प्रताव सुब्बाको आज बिहान करिब ११:४० बजे ७६ वर्षको उमेरमा निधन भएको छ।
उनलाई दुई दिन अघि सिलगढीको एक नर्सिङ होममा उपचारको लागि भर्ती गरिएको थियो भने आज उपचारधीन अवस्थामा निधन भएको छ।
उल्लेखनीय छ, सन् १९७६ मा ब्ल्याक एण्ड व्हाइट फिल्म 'परालको आगो' मार्फत ठूलो पर्दाको फिल्म निर्देशन यात्रा शुरु गरेका प्रताव सुब्बाले 'बाच्न चाहनेहरु', 'मशाल', 'कही अध्यारो कही उज्यालो', 'दिदी', 'चट्याङ्' र 'भष्म प्रतिज्ञा' जस्ता चलचित्रको निर्देशन गरेका थिए।
उनले ठूलो पर्दाको फिल्मको निर्देशन शुरु गर्नु अगावै 'रातको प्रथम प्रहर' नाटकको निर्देशन मार्फत भारत मात्रै होइन, छिमेकी मुलुक नेपालमा पनि चर्चा कमाइसकेका थिए।
असंख्य पुरस्कार र सम्मान प्राप्त गरेका प्रख्यात निर्देशक प्रताव सुब्बाको निधनले केवल नेपाली चलचित्र जगत र दार्जिलिङे गोर्खा समाजमा मात्रै नभएर समग्र भारतीय गोर्खाहरुमै ठूलो क्षति पुगेको छ।
Post a Comment