दार्जिलिङ, २२ फरवरी: पश्चिम बंगाल विधानसभामा बंगाल विभाजन विरोधी विधेयक पारित गरिएकोमा त्यसको विरोध जनाउँदै जीटीए क्षेत्रका ९ जना निर्वाचित सभासद्हरू मंगलबारदेखि दार्जिलिङ गोर्खा रंगमञ्च भवन अघि २४ घण्टे भोक हड़तालमा बसेका छन्।
थाहा लागे अनुसार, जीटीएका विपक्षी दलहरू हाम्रो पार्टी लगायत गोजमुमो समर्थित तीनजना सभासद् अनि टीएमसीबाट निर्वाचित विनय तामाङ भोक हड़तालमा सामेल रहेका छन्। भोक हड़तालमा बस्ने सबै सभासद्हरूलाई प्रतिनिधित्व गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले बताए अनुसार, बंगाल विभाजन विरुद्धको निहुँ गरेर राज्य सरकारले गोर्खाहरुको गोर्खाल्याण्डको मागलाई प्रहार गर्न नै यो विधेयक ल्याएको हो। जीटीएका रहल ३६ जना सभासद्हरू र उनीहरूका पार्टीले यस विधेयकको विरोध गर्नु पर्नेमा उनीहरूले समर्थन जनाएर गोर्खाल्याण्डको मागलाई पूर्णतया त्यागेको पनि यहींबाट स्पष्ट भएको अजय एडवर्डले दावी गरेका छन्।
यता, २४ घण्टे भोक हडतालमा बसेका ९ सभासद्हरूले बंगाल विधानसभामा पारित विधेयकको विरोध जनाउँदै आउँदो २३ फरवरीका दिन सम्पूर्ण पहाड़ बन्दको आह्वान पनि गरेका छन्। आगामी २३ तारिखको पहाड बन्दमा राज्यमा हुने माध्यमिक परीक्षालाई ध्यानमा राख्दै स्कूल, कलेज र आपतकालीन सेवाहरूलाई छूट दिइएको छ भने रहल सम्पूर्ण पसल, कार्यालयहरू तथा वाहन इत्यादि बन्द रहने बताए सभासद् तथा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले।
यता, जीटीएका ९ सभासद्हरुलाई भोक हडतालबाट उठ्ने आव्हान गर्न आए प्रशासनिक अधिकारी। हामी यहाँबाट उठने छैनौ, हामी लाई अरेस्ट गर्नु हुन्छ भने पनि गर्नु होस्, विभिन्न धाराहरू अनुरूप मामला दर्ता गर्नु हुन्छ भने पनि गर्नु होस तर हामी यहाँ उठने छैनौं भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रशासनिक अधिकारीलाई स्पष्ट जवाफ दिए।
Post a Comment