आज उधौली पर्व। हरेक वर्षको मंसिर पूर्णिमाका दिन पर्ने उधौंली पर्व किराँत समूदायले अति धुमधाम अनि हर्षोल्लासका साथ मनाउने गर्छन्। किराँती मान्यता अनुसार, आजको दिनदेखि हिउँद शुरु भयो, हिउँदको शुरु भए लगत्तै बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाईं सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ। पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो। अर्कातर्फ, किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने र खेतीपाती राम्रो भएकोमा साकेला (भूमे) लाई पुज्ने पर्वका रूपमा पनि उधौली पर्व मनाउने प्रचलन रहेको छ।
आज किराँत दाजुभाई तथा दिदीबहिनीहरु परम्परागत भेषभुषा लगाएर सार्वजनिक स्थलमा भेला भएर पारम्परिक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ। "सोई साई ला एएएए....... हुर्रे हा हा... सोई ढोले सोई एएए अर्को ढोले खै?"– भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ। साथमा परम्परागत बाजागाजाहरू एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ। बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरू देख्दा जस्तै नाच्न नजान्ने र बिरसिलो मान्छे भए पनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आउँछ आउँछ। महिलाहरूले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई 'छिट्को गुन्यू' भनिन्छ। त्यसमाथि विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ।
किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली मनाउने चलन छ। उँधौली पर्वलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन्। यस पर्व एक दिनका लागि तोकिए पनि यसलाई १५ दिनसम्म मनाउने चलन छ।
किराँतहरू भूमिका सन्तानहरू हुन्, यस समुदायमा भूमिको विशेष महत्त्व अनि आमा पृथ्वीको अद्भुत प्रेम पाइन्छ। आजको दिन पवित्र भूमि पूजाका रूपमा पनि लिइन्छ। भूमि अर्थात् माटोको श्रद्धाका साथ पूजा अर्चना गर्दै यस वर्षको अन्न कालागि धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गरिन्छ।
सबैमा उधौंलीको मंगलमय शुभकामना।
साभार: हाम्रो पात्रो।
Post a Comment