आज असार महिनाको १५ गते। कृषीजीवी गोर्खा समाजमा आजको दिनको विशेष महत्व रहीआएको छ। गोर्खाहरुले प्रत्येक वर्ष असार १५ को दिन खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने चलन छ। वर्षदिन भरी खान पुग्ने अन्नको जोहो गर्नको निमित्त असार महिनाभरि कडा मेहनत र परिश्रमका साथ खेतिपातिको काममा खट्ने, जुट्ने र सोही महिनाको बिच भागमा पर्ने १५ गतेका दिन धान रोपाइँ गरी दही चिउरा खाने चलन गोर्खा समाजमा युगौं युगदेखि परम्परागत रूपले चलिआएको छ।
असार १५ मा किन दही चिउरा खाइन्छ?
असार १५ कै दिन किन दही चिउरा खाइन्छ? यसको खास कारण कतै भेटिदैन। दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ। भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर!’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ। यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ। अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ। गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता दिने भएकाले पनि खेतमा दही चिउरा खाने परम्परा रहेको बताइन्छ। दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ। जसले शरीरलाई फाइदा गर्छ।असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ।
असार महिनामा झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाईंको पर्व असार १५ को मुख्य आकर्षण हो। यसो गर्नाले माटोप्रति माया जाग्छ, बाली सप्रिन्छ र खेती किसानी उत्तम कर्म हो भन्ने देखिन्छ। यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ भन्ने विश्वास गरिन्छ।
शहरमा चिटिक्क परेर हिड्नेहरु पनि असार पन्ध्रका दिन हिलो खेल्न खेतमा पुग्छन्। उनीहरुले संकोच हटाई खेतमा किसानसँग मिलेर धान रोप्छन्, हिलो खेल्छन्। यस दिन आफन्तजन पनि धान रोप्न खेतमा भेला हुने चलन छ।
परापूर्वकालमा असार १५ गतेका दिन रोपाईंको क्रममा त्यसबेलाका तत्कालीन राजा रानीले पनि हिलो कुल्चिएर रोपाईं कार्यक्रममा संलग्न भएको र रोपाईं सकिएपछि किसानहरुसँगै बसेर दही चिउरा खाएको किम्बदन्तीसँग पनि असार महिनाको इतिहास जोडिएको छ।
विगत वर्षहरु झैं यस वर्ष पनि विश्वको विभिन्न मुलुकमा बसोबास गर्ने गोर्खा समूदायले खेतमा रोपाईं गरी दही चिउरा खाएर असार १५ मनाउँदै छन्। तर असममा विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण प्रायः जसो खेतबारी डुबानमा परेकाले असार १५ को उत्साह उमंगमा केही कमि आएको देखिन्छ।
अन्त्यमा, सबैमा अषाढ पन्ध्रको शुभकामना।
Post a Comment