दार्जिलिङ पहाडको स्थानीय व्यवस्था गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशन (GTA) -को आज दोस्रो चुनाव लगभग १० वर्षपछि सम्पन्न भइरहेको छ। यस भन्दा अघि २०१२ मा पहिलो पटक जीटीए सभाको चुनाव सम्पन्न भएको थियो भने बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले एकपक्षीय जीत दर्ता गरेको थियो। तर १० बर्षपछि बिमल गुरुङ आफै फ्रेममा छैनन्। त्यो जे नहोस्, आज जीटीएको कूल ४५ वटा आसनको निम्ति भइरहेको मतदानमा भने पाहाडको ७ लाख मतदाताहरुमा कति प्रतिशत मत खस्ने हो त्यो महत्वपूर्ण हुनेछ।
दार्जिलिङ पहाडमा आज १० वर्षपछि सम्पन्न भइरहेको जीटीए चुनावमा सक्रीय अनि प्रत्यक्ष रूपमा पहाडको नवगठित दुइवटा प्रमुख राजनैतिक दल क्रमशः अनित थापा नेतृत्वको 'भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा' अनि अजय एडवार्ड नेतृत्वको 'हाम्रो पार्टी' बिच नै टक्कर हुने सम्भावना प्रवल छ। यता, भागोप्रमोलाई राज्यको सत्तारूढ दल तृणमुल कंग्रेसको समर्थन रहेको छ भने हाम्रो पार्टी एक्लै चुनावमा होम्मिएको छ। यस्तोमा चुनावी गफ, राजनैतिक पार्टीहरुको सक्रियता सामान्य कुरो हो। तर सबैको खुल्दुली भनेको चुनावमा पहाडका जनताको सहभागिता कस्तो हुने हो त? भन्नेमा कुरामा छ।
अर्कातिर, जीटीएको संबैधानिकता माथि अनि जिटिए चुनावमा रोक लगाउने रिड सहित कलकत्ता उच्च न्यायालय पुगेका गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले समेत चुनावलाई लिएर आफ्ना समर्थकहरुको निम्ति कुनै निर्दिष्ट निर्देश जारी गरेन। गोरामुमोले आफ्नो समर्थक अनि जनतालाई भोट हाल्ने वा नहाल्ने बारे आफै फैसला गरुन भनी सन्देश दिएको छ।
तर कतिपयको बुझाई भने फरक छ। उनीहरु ठान्छन्- मतदानलाई लिएर जनतामा त्यति चासो छैन। किनभने चुनावको तैयारीमा सरकारले देखाएको लापरबाहीले पनि यो चुनावलाई उति खास नबनाएको उनीहरुको ठम्याइ छ। जुन प्रकारको चुनावी गतिविधिहरु हुनु पर्ने हो त्यसमा पनि कमी महसुस भएको उनीहरुको बुझाई छ। यता आजको मौसमले पनि मतदानको औसतमा फरक ल्याउन सक्ने राजनीतिक जानकारहरु भनाई छ। यदि बेलुका सम्म वर्षा भए जनताले बुथ तिर जान आलाश्यता देखाउन सक्छन भन्ने उनीहरुको मत छ।
अर्कातिर, पहाडको पुरानो पार्टी मध्ये एक क्रामाकपाले जनतालाई भोट नहालिदिने अपिल गरेको छ। उनीहरुले जीटीए गोर्खाहरुको हितमा नरहेको साथै जीटीए गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति बाधा हो भनेका छन। तर क्रामाकपाको वर्तमान जनाधार धेरै कमजोर छ साथै केन्द्र सरकारले पीपीएस माथि गरेको ढिलाई अनि गोर्खा समुदायको ११ जातलाई जनजातिको दर्जा प्रदान गर्न नसकेको तथ्यले जनतालाई एकचोटि फेरि जीटीए तिर सोच्न बाध्य बनाएको छ।
त्यो जे नहोस्, तर पहाडको राजनीतिमा यो मतदानले आगामी धेरै समयसम्मको निम्ति राजनीतिक दिशा तय गर्ने निश्चित छ। किनभने पहाडको समग्र राजनीति लाल कोठीबाट नै चलायमान हुने प्रथा यथावत छ।
साभार: निर्पानी टाइम्स।
Post a Comment