आज पवित्र महाशिवरात्री। हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ। यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ। शायद यसै कारणले होला यस दिन प्रकृतिले नै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ। यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ।
आजको दिन शिवको वरिपरि घुमेको छ, शिव ती भगवान् हुन् जसको आकार छैन, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंसले संसारका सम्पूर्ण अवयवहरूलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो आज।
शिव अर्थात् त्यो तत्त्व जुन छ पनि र छैन पनि, आजको आधुनिक विज्ञानले सम्पूर्ण कुराहरू जुन श्रोतबाट पाउँछ त्यसैमा विलीन हुन्छ भने अणु अनि परमाणु अवयवहरूको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान् शिवको अस्तित्वले संसार अनि सृष्टिलाई एउटा दृष्टान्त दिईनै रहेको छ। विज्ञानले धेरै अध्ययन पछि संसारका हरेक कुराहरू अनि जीवहरू ब्रह्माण्डका तत्त्वरूपी शक्तिबाट बन्ने र तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरूपहरूमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वका रुपमा व्याख्या गरिन्छ। यिनै तत्त्वहरूबाट हामी सबै निर्मित छौँ, ब्रह्माण्डका यी सम्पूर्ण स्वरूपको एउटै श्रोत भगवान् शिव हामी सामु अनेक स्वरूपमा छन्।
धर्म अनुसार शिवको नाम फरक होला, व्याख्या फरक होला तर शिवतत्वका सृजनाका रुपमा हामी रहेका छौँ। के बालक के वृद्ध अनि के वयस्क? आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले देश विदेशका शिवालयहरू भरिएका हुन्छन्। तर धेरै व्यक्तिले शिवलाई गाँजा भाङ धतुरो आदि सेवन गर्ने एउटा अचम्मको भगवान पात्रका रूपमा अपव्याख्या या अल्पसङ्ख्या गरिरहेका हुन सक्छ तर शिवका यी सम्पूर्ण बानी भित्र सृष्टि अनि समाजको गहिराई लुकेको छ।
शिव तिनै हुन् जसले विष पिएर नीलकण्ठ भएर गोसाईंकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामयिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अश्रुका धारा बगाउँदै लामो समयसम्म ब्रह्माण्ड यात्रा गरेका थिए, त्यही यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँ जहाँ विसर्जन भए त्यहाँ त्यहाँ शक्ति पीठहरूको उत्पत्ति हुँदै गयो।
आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुका लागि भने आज शिव भगवान् पर्वतको रूप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो, तसर्थ शिवरात्रिको रातलाई अचल अनि निर्भय रात्रीका रुपमा पनि लिइन्छ। योगी अनि साधकहरुका लागि शिव भगवान् नभईकन एउटा आदि गुरु हुन् जसले योग शिक्षा सप्तऋृषिहरुलाई औपचारिक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरू आज संसारभरि स्वास्थ्य रहनका लागि धेरैले अनुसरण गर्ने गर्दछन्। यी प्रात कालका नायक अनि आदिकाल देखिका आदि गुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस्।
गाँजा भाङ अनि धतुरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौँ, यो शिवरात्रिमा रिस, राग अनि अहङ्कार त्याग गरौँ अनि जीवनको साँचो पथतर्फ लम्कदै जाँऔ।
सबैेमा महाशिवरात्रीको मंगलमय शुभकामना।
Post a Comment