Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

नवोदित कवयित्री नैना अधिकारीको 'घात-प्रतिघातका उद्गारहरू' लोकार्पण

मरिगाउँ, १९ जनवरी: असमकी नवोदित कवयित्री नैना अधिकारीको पहिलो काव्यकृति 'घात-प्रतिघातका उद्गारहरु' विमोचन गरिएको छ।

जानकारी अनुसार, मरिगाउँ जिल्ला अन्तर्गत जागिरोडस्थित नेपाली मन्दिर प्राङ्गणमा सम्पन्न लोकार्पण कार्यक्रममा नैना अधिकारीको काव्यकृति "घात-प्रतिघातका उद्गारहरू" विमोचन गरिएको हो।

असम नेपाली साहित्य सभा, मरिगाउँ जिल्ला समितिको आतिथ्यमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा अनेसासका केन्द्रीय उप-सभापति कृष्णलाल शर्माले अध्यक्षता गरेका थिए भने अनेसास मरिगाउँ जिल्ला समितिमा मूल सचिव गङ्गाराम ढुङ्गेलले सभाको उद्देश्य व्याख्या गरेका थिए।

यता, काव्यकृति विमोचनको अगावै कवि सम्मेलनको पनि आयोजना गरिएको थियो भने उक्त कवि सम्मेलनमा अनामिका उपाध्याय, नारायण थापा, डा. देवेन सापकोटा, पुरुषोत्तम उपाध्याय, ज्योति हुमागाईँ, विनोद घिमिरे र नवप्रभा अधिकारीले कविता वाचन गरेका थिए। त्यसैगरी मीना पौडेल र अमित अधिकारीले गजल वाचन गरेका थिए। अर्कोतर्फ, निर्वाणा अगस्तीको एक सुन्दर नृत्य प्रस्तुतीले कार्यक्रमलाई अझ रोचक बनाएको थियो।

नैना अधिकारीको पुस्तक विमोचन गर्दै असमकी वरिष्ठ साहित्य इतिहासकार डा. गोमा अधिकारीले उनको प्रस्तुत कृतिका विभिन्न पाटाको विश्लेषण गर्दै उनका कवितामा उनी छ्न्, उनको देश छ, उनको समय छ, नारी समाजका सुख र दुखको कथा छ  र समाजका यिनै कथा-व्यथालाई उनले शब्दको मालामा उनेर आकर्षक शैलीले समाजका अघि पस्किएकी बताउछिन्।

अर्कातिर, वरिष्ठ कवि रुद्र बरालले वर्तमान असमको कविता लेखनमा नारी श्रष्ठाहरूको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै यो ताँतीमा नैना अधिकारीको नाउँ जोडिएको र उनीबाट असमेली नेपाली साहित्यले निकै आशा गरेको उल्लेख गर्दछ्न्। 

उक्त कार्यक्रममा असम नेपाली साहित्य सभाका महासचिव रुद्र बराल, सचिव नवप्रभा अधिकारी, केन्द्रीय सदस्य शङ्कर ढुङ्गेल, ज्योती हुमागाई, वरिष्ठ लेखक डा. सीताराम अधिकारी, डा. देवेन सापकोटा, अविकेशर शर्मा, पुरुषोत्तम उपाध्याय, कवि मिना पौडेल, नारायण थापा, अमित अधिकारी, जागिरोड महाविद्यालयका रसायन विज्ञानका अध्यापक डा. गोपी अधिकारी, हाम्रो स्वाभिमानका असम प्रान्तका सांस्कृतिक सचिव भानु शर्मा लगायत धेरै विशिष्ट कवि साहित्यकारको सहभागिता रहेको थियो।

उल्लेखनीय छ, प्रस्तुत पुस्तकमा ४० वटा कविता समावेशित गरिएको छ भने यस पुस्तकको भूमिका असमका युवा समालोचक लक्ष्मण अधिकारीले र शुभेच्छाका हरफहरू लेखेका छ्न् भारतेली नेपाली साहित्यका तीनजना प्रख्यात कवि राजा पुनियानी, डा. इन्दु प्रभा देवी र पवित्रा लामाले। पूर्वायण प्रकाशनले प्रकाश गरेको बाक्लो जिल्दको यस पुस्तकको मोल मात्रै १७० रुपियाँ राखिएको छ।

Post a Comment

Previous Post Next Post