माघे संक्रान्ति | तिलुवा संक्रान्ति | मकर संक्रान्ति | माघी पर्व
आज माघे संक्रान्ति। परम्परागत रुपमा नेपाली भाषीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा आज धुमधामका साथ माघे संक्रान्ति मनाइने गरिन्छ। माघे संक्रान्तिलाई तिलुवा संक्रान्ति, मकर संक्रान्ति र माघीका रूपमा पनि आ-आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाउने चलन छ।
माघे संक्रान्तिमा तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरु विशेष परिकारको रुपमा लिइन्छ। त्यसै कारणले पनि माघे सङ्क्रान्तिलाई 'तिलुवा सङ्क्रान्ति' पनि भनिन्छ।
आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई 'मकर संक्रान्ति' पनि भन्ने गरिन्छ। आजकै दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म ऋतु बढ्दै जाने मान्यता पनि रहिआएको छ।
हिन्दू सनातन गोर्खा समाजमा माघे संक्रान्तिमा सबेरै उठेर नुहाईधुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ।
माघे संक्रान्ति थारु र मगर समुदायको मुख्य चाँड हो। थारु र मगर समुदायले माघे संक्रान्तिलाई 'माघी पर्व'को नामले मनाउने गरेका छन्।
उता मगर समुदायको बाहुल्य क्षेत्रमा पनि माघीले छुट्टै रौनक थप्ने गर्दछ।
नेवार समुदायले पनि ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गर्दछन्। आजको दिन नेवारहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन्।
हिन्दू सनातन समाजमा मध्य हिउँदमा मकर स्नानको पनि विशेष महत्त्व छ। मकर सङ्क्रान्तिबाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ। आजको दिन विभिन्न मुलुकहरुको घाट र नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ। यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ। यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ। यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ।
यता, भारतका विभिन्न क्षेत्रहरुमा पनि माघे संक्रान्तिलाई विभिन्न रुपमा मनाउने गर्दछन् भने पूर्वोत्तर भारतको असममा असमीया समाजले माघे संक्रान्तिलाई जातीय चाँड 'माघ बिहु अथवा भोगाली बिहु'को रुपमा मनाउने गर्दछन्। असममा बसोबास गर्ने नेपालीभाषीहरुले पनि असमीया संस्कृतिलाई अंगाल्दै माघ बिहुको समानान्तर रूपमा पराम्परागत रुपमा माघे संक्रान्ति पनि धुमधामका साथ मनाउँदै छन्।
सबैमा भोगाली बिहु तथा मकर संक्रान्तिको मंगलमय शुभकामना!
Post a Comment