Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज २५ डिसेम्बर | इसाई धर्मावलम्बीहरुको पवित्र क्रिसमस डे



आज २५ डिसेम्बर। विश्वभरिका इसाई धर्मावलम्बीहरूका लागि आजको दिन विशेष दिन हो। आजको दिन विश्वभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस डेको रुपमा मनाउने गर्छन्। आजको दिन विश्वभर जिजसमा विश्वास राख्ने इसाई धर्मावलम्बीहरुले मात्र होइन, अन्य समुदायले पनि क्रिसमस डे मनाउँछन्।

इसाई धर्मावलम्बीहरुका सर्वश्रेष्ठ जिजस क्राइस्टको जन्मदिन र जन्म महिना ठ्याक्कै थाहा छैन। तर, चौथो शताब्दिमा विश्वका विभिन्न देशमा रहेका चर्चहरुले २५ डिसेम्बरमा जिजसको जन्मदिन मनाउने निर्णय गरेका थिए। यसकारण पनि आजको दिनमा क्रिसमस डे मनाउने गरिएको हो।

इसाई धर्ममा विश्वास गर्नेहरुका लागि आजको दिन जिजसको जन्मदिन भन्दा पनि बढी महत्त्वको कुरा के हो भने उनीहरुले भगवान पृथ्वीमा आएको र सम्पूर्ण मानवजातिको पापलाई नास गर्न मानिसकै अवतार लिएकाले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउनु पर्ने धारणा राख्छन्।

इसाई धर्मका अनुयायीहरुले आजको यो विशेष दिनलाई विशेष सौहार्दता, प्रेम र माया, सद्भाव र प्रभुको अनुकम्पामा अनुगृहित भएर मनाउने गरेका छन्। विश्वभर जिजस क्राइस्टमा विश्वास गर्ने देशहरुमा आजको दिन बिदा दिइन्छ।

त्यसो त विश्वभर मानव समुदायको आस्था र विश्वास विभिन्न भगवानहरुमा छ। चाहे भगवान कृष्ण हुन् या बुद्ध, गुरु नानक हुन् या पैगम्बर मोहम्मद सबैले विश्वभर अहिंसा र शान्तिको सन्देश फैलाएका छन्, विश्वभर फैलिएको मानव जातिलाई विश्वासको एउटा सुत्रमा बाँध्ने काम गरेका छन्। अनि प्रभु येशु वा जिजस क्राइस्ट जे भनिए पनि आजको दिनलाई उहाँको जन्मदिन मानेर विश्वले यही सन्देश फैलाउन चाहन्छ।
संसारका विभिन्न देशमा यो समय जाडो हुने भएकाले र हिउँ पर्ने देशहरुमा हिउँ पर्ने भएकाले क्रिसमस डेको यो उत्सवको हिउँसँग पनि विशेष सम्बन्ध छ। अनि क्रिसमस ट्रि वा क्रिसमस रुखको पनि यो दिनमा विशेष सम्बन्ध छ।

अनि आजको दिन बिर्सन नहुने अर्को विषय हो- सान्टा क्लस। रातो टोपी, सेतै दाह्री जुँगा भएका सान्टालाई खुसीको उपमाका रुपमा पनि लिइन्छ। आजको दिन क्रिश्चियन धर्मावलम्बीहरुले सान्टा आएर आफूहरुको घरमा उपहार छोड्ने विश्वास गर्छन्। जे होस्, क्रिसमस डेको यो विश्वासले पनि हामीलाई आशाका किरण देखाउँछ।

क्रिसमस डे होस् या अरु कुनै धार्मिक विश्वास बोकेका दिनहरु किन नहुन्, सबैले विश्वभर भातृत्वको भावना बढाउँछन्, शान्ति र विकासको कामना गर्छन्, मानव जातिको विकासको परिकल्पना सबै धर्ममा गरिएको हुन्छ।

आज भारत तथा असममा पनि चर्चहरूमा विभिन्न कार्यक्रम गरेर इसाई धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँछन्।

तर पछिल्ला दुई वर्ष विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण क्रिसमस डे मनाउने उत्साहमा केही कमी भएको जस्तो देखिन्थ्यो। फेरि यो वर्ष क्रिसमस डेको वरपर नै विश्वका विभिन्न देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले दुःख दिएको छ। त्यसैले यस वर्ष पनि विश्वभर कोरोनाभाइरसबाट बच्न स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै क्रिसमस डे मनाइन्छ।

सबैलाई क्रिसमस डेको धेरै धेरै शुभकामना।

साभार- हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post