किराँतीहरुको उधौली पर्व | किन र कसरी मनाइन्छ?
किराँतहरूको महान् चाड साकेलाको दुई वटा पर्वमय पक्षहरू छन्- उँगौली र उँधौली । 'उँगो' भन्नाले ठेट नेपाली/गोर्खा शब्दमा माथि भन्ने बुझाउँदछ र 'उँधो' भन्नाले तल भन्ने बुझाउँदछ। हरेक वर्षको मसिंर पूर्णिमाका दिन उँधौली पर्व पर्दछ।
किराँती मान्यता अनुसार, आजको दिनदेखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुङ्गी बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ। अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ। किराँतहरूको धार्मिक पुस्तक 'मुन्धुम'मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ- उँगौली र उँधौली।
पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो। परम्परागत भेसभुसा लगाएर आज किराँत दाजुभाई तथा दिदी-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ।
"सोई साई ला एएएए....... हुर्रे हा हा... सोई ढोले सोई एएए अर्को ढोले खै?" भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गर्ने गरिन्छ। यस विशेष दिनमा परम्परागत बाजागाजाहरू एवम् विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ। बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरू देख्दा जस्तै नाच्न नजान्ने र बिरसिलो मान्छे भए पनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आउँछ। महिलाहरूले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई 'छिट्को गुन्यू' भनिन्छ। त्यसमाथि विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ।
उँधौली पर्वलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन्। यस पर्व एक दिनका लागि तोकिए पनि यसलाई १५ दिनसम्म मनाउने चलन छ।
आजको दिन किराँतहरूको बाहुल्यता भएको ठाउँमा सार्वजनिक भेला अनि नाचगान हुने गर्दछ। परम्परागत पहिरनमा सजिएका किराँती समुदायका साथीहरूले एक अर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भए पनि धेरै जना भेला हुने गर्दछन्।
किराँतहरू भूमिका सन्तानहरू हुन्, यस समुदायमा भूमिको विशेष महत्त्व अनि आमा पृथ्वीको अद्भुत प्रेम पाइन्छ। आजको दिन पवित्र भूमि पूजाका रूपमा पनि लिइन्छ। भूमि अर्थात् माटोको श्रद्धाका साथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवानलार्इ धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन्।
सम्पूर्ण नेपाली भाषीहरूलाई उँधौली पर्वको मंगलमय शुभकामना!
साभार- हाम्रो पात्रो।
Post a Comment