या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
बडा दशैंको सातौं दिन अर्थात् सप्तमी। आज प्रत्येक घर, दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। त्यसैले सप्तमीको दिनलाई 'फूलपाती' भनिन्छ।
यो गोर्खा सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ। सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्।
फूलपातीको दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ। कृष्णवर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पुर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन्।
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारका फूलपात समिश्रित 'फूलपात' भित्र्याइन्छ। यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ।
आजको यस विशेष सातौं दिन दुर्गाको सातौँ स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ।
Post a Comment