Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

रक्षा बन्धन | जनै पूर्णिमा | क्वाँटी खाने दिन

रक्षा बन्धन:
आज रक्षा बन्धन। भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षा बन्धन। खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो। रक्षाबन्धन शब्दमा दुईवटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’, 'रक्षा'को अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने 'बन्धन' जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ। रक्षा बन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो। यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन्। रक्षा बन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल देखिन्छ भने रङ्गी बिरङ्गी राखीले पसलहरु सजिएको हुन्छ।

पौराणिक कथाअनुसार, देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो। यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए। पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे। यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन्। त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो। अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभ मुहूर्तमा इन्द्रलाई रक्षा बन्धन बाँधेर बल प्रदान गरेका थिए।

जनै पूर्णिमा/क्वाँटी खाने दिन

आज जनै पूर्णिमा पनि हो। जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ। खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ।

यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन्। हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ। यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षा बन्धन बाँध्ने प्रचलन रहेको छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ, यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रिय सँग जोडिएको हुन्छ।

हिन्दु धर्ममा जनैको विशेष स्थान छ। हिन्दु दर्शन अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ। हिन्दु धर्मालम्बीहरुमा व्रतबन्ध सस्कार गरिसकेका पुरुषहरुले काधमा लगाउने गरेको धागोलाई जनै भनेर भन्ने गरिन्छ, देख्दा धागो जस्तो भएता पनि यसभित्र बैदिक बिधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बनाइएको हुन्छ, धागोमा बिभिन्न देवताहरुको आराधना गरेर अभिमंत्रण गरि सकेपछी त्यो जनै वा यज्ञोपवित बन्दछ।

धार्मिक दृष्टिकोणबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ, जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन। जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिवार्य धारण गरेको हुनु पर्दछ, बिना जनै गरिएको काम पुरा नहुने मात्र होइन विपरित फल समेत दिन सक्ने हुन्छ। यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ।

रक्षा बन्धन, जनै पुर्णिमा र क्वाँटी खाने दिनको मंगलमय शुभकामना।
 
साभार: हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post