आज साउन १५ अर्थात् खीर खाने दिन आजको दिन गोर्खा समाजमा खीर खाने परम्परा छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ ।
चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीले भिटामिन र मिनरल्स प्रदान गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा हो खीर ।
साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।
नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ।
उल्लेखनीय छ कि गोर्खा समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।
Post a Comment