Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

पहिलो गोर्खा खबर कागतका सम्पादक पादरी गंगा प्रसाद प्रधानको आज १७० औं जन्म जयन्ती

न्युज डेस्क:  नेपाली साहित्य इतिहासका अग्रज, प्रथम सम्पादक, प्रथम पाठ्य पुस्तक लेखक, प्रथम नेपाली पत्रकार, प्रथम नेपाली बाइबल अनुवादक, प्रथम नेपाली पादरी, गीतकार अनि भाषा मार्गदर्शक पादरी गंगाप्रसाद प्रधानको आज १७० औं जन्मजयन्ती।

डाक्टर इन्द्रबहादुर राई उहाँको बिषयमा यसो भन्नुहुन्छ- “समाज र समयको खाँचोलाई बुझेर उहाँले र उहाँका समकालीनहरूले नयाँ चाहिएका कामहरू गर्नुभयो औं जसको महत्व बुझी हामी कृतकृत्य छौँ।”

पादरी गंगाप्रसादको योगदान र व्याक्तित्वमाथि कोहि कोहिले दिपक जलाउने काम गरेपनि आजसम्म गंगाप्रसादलाई र उनको योगदानलाई चिन्ने र जान्नेहरूको जमात नेपाली भाषा समूहमा थोरै पर्न जाला!

पादरी गंगाप्रसादप्रधानको जन्म काठमाडौँ ठमेल ठैहिटी टोलमा, नेवारी परिवारमा ४ जुलाई १८५१ मा भएको थियो। उहाँको नाम त्यसताक नरसिंह नारायण, पछिबाट दशवर्षको उमेरमा बाबु  रुपनारायणसँग सन् १८६१ मा दार्जीलिङ आएपछि  गंगाप्रसाद नामले परिचित बने।त्यसताक फादर म्याकफार्लेन गाऊँ बस्तीतिर घुम्दै बिधार्थीहरू बटुल्ने गर्थे पढाउनलाई, यो देखेर गंगाप्रसादलाई पनि पढने इच्छा जाग्यो फलस्वरुप काम-धन्दा छोडेर आफ्नो १९ औं जन्मदिनको दिन उनी फादर म्याकफार्लेनलाई भेटन पुगे अनि पढाइको थालनी गरे।

प्रत्यक्ष रुपमा नेपाली साहित्यमा उनको उदय सन् १९०१ मा भएको मान्न सकिन्छ यधपि उनको नेपाली भाषा बाइबल अनुवाद कार्य, दर्शन र जाँगर धेरै अघिदेखि रहेको हुनुपर्छ। सन् १९०१ मा ‘स्कटिश मिसन ओर्फनेज प्रेस’ लाई किनेर ‘द गोर्खा  प्रेस’ नयाँ नामकरण गरि यसै बर्षदेखि ‘गोर्खे  खबर  कागत्’ पत्रिका प्रकाशित गरे, जसको सम्पादक उनी स्वय म्थिए।

सन् १९०१-३२ सम्म लगातार रुपमा उनले ‘गोर्खे खबर कागत्’ प्रकाशित गरे जो त्यस समयको धेरै प्रचलित पत्रिका मान्न सकिन्छ। यसबाहेक उनले धेरैवटा पुस्तकहरू, पाठ्यपुस्तक  आधारित नीतिकथाहरू पनि लेखे।अंग्रेजी आधारित धेरैवटा कथा अनि नीतिकथाहरूलाई सरल र सरस दार्जीलिङ्गे बोलीमा अनुवाद गर्ने कार्य पादरीको दार्जीलिङ्गे शिक्षा र भाषाप्रतिको ठूलो योगदान मान्न सकिन्छ। सन् १९०८ मा उनले नेपाली जनमानसमा प्रयोगमा ल्याइने उखानहरुलाई संग्रह गरि‘उखानको पोस्तक’ प्रकाशित गरे जो मोतिराम भट्टद्वारा प्रकाशित‘उखानको बखान’पछिको दोस्रो उखान संग्रह हो।

पादरी गंगाप्रसाद प्रधानले हाम्रो क्षेत्रमा बोलिने कथित्भाषालाई प्राथमिकता दिए साथै गोडमेल गर्ने काम गरे।

पादरीको समयमा “काशीभाषे” (बनारसबाट पढिने वा चलाइने नेपाली भाषा) को  प्रचलन र प्रथामिकता बढी थियो। यस बिच उनले धेरै बिरोधको पनि सामना गर्नुपर्यो तर, पादरीले दार्जीलिङ्गे जिब्रोलाई प्रथामिकता दिए अनि फस्टाउने काम गरे।

उनी प्रथम नेपाली इसाई पादरी  न्जसले सन् १९१४ मा प्रथमपल्ट पूर्ण बाइबल (नयाँ करार अनि पुरानो करार) दुई ठेलीमा अनुवाद गरेर तयार गरे।

यस्ता महान स्रष्टाको देहवसान २८ मार्च १९३२ मा भयो।

बिडम्बना के छ भने, देहवसानको ४३ वर्षसम्म पादरी गंगाप्रसादप्रधानलाई किनारा लगाउने काम भयो अर्थात् उनको कहिँ लिखित चर्चा भएन। सन् १९७२ मा प्रथमपल्ट पारसमणि प्रधानद्वारा लिखित ‘काशी भाषे बोली’ लेखमा पादरीको सम्झना भयो। पछिबाट साथै वर्तमानमा पनि थोरैले उनको योगदानलाई उधृत गर्ने साथै चिनाउने कार्य भइरहेको छ भन्न दुइमत नहोला।

भनिन्छ, ‘इतिहास बिर्से, भोलि इतिहासले हामीलाई बिर्सेनेछ्’। पादरी गंगाप्रसाद प्रधान जस्ता ओझेलमा परेका भाषा अग्रजलाई नभुलौं। उनको योगदानलाई चिनेर वर्तमानमा सार्थक बनाउदै लगे नेपाली भाषा र बोली बाँच्नेछ। भाषा बाँचे जाति र जातियता बाँच्नेछ किनकि भाषा र जातिनै हाम्रो अस्तित्वको मुटु हो।

भाषा अग्रज मार्गदर्शक पादरीलाई उहाँको १७० औं जन्म जयन्तीमा भाषा र जातिय सम्झनाहरू!

साभार: Noel Giri

Post a Comment

Previous Post Next Post