Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

१९३५ मा नै सिक्किमले दार्जिलिङको मालिकाना हक गुमाइसकेको छ : एमके सुब्बा

गान्तोक, ०३जूलाई: गोर्खा राष्ट्रिय कङ्ग्रेस (जीआरसी)-ले उठाएको सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दालाई सिक्किमको प्रमुख विपक्षी एसडीएफ पार्टीले कड़ा शब्दमा विरोध गरेको छ। आज इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन डाकेर एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले ३७१ एफले पूर्ण सुरक्षा प्रदान गरेको सिक्किमलाई दार्जीलिङसित एकीकरणको मुद्दा उठाएर गोर्खा राष्ट्रिय कङ्ग्रेसले ‘ताण्डव मच्चाउने’ काम गर्दैछ भने। यसका साथै भारत सरकारले संविधान संशोधन गरेर सिक्किमलाई प्रदान गरेको ३७१ एफलाई गोर्खा राष्ट्रिय कङ्ग्रेसले पनि बुझ्नुपर्नेछ भन्ने उनले सल्लाह दिए।

‘दार्जीलिङ सिक्किमको हो’ भन्ने गोर्खा राष्ट्रिय कङ्ग्रेसको दाबीको जबाफ दिँदै सुब्बाले भने, १८३५ मा भएको ‘डीड अफ् ग्रान्ट अफ् दार्जीलिङ’ -का आधारमा सिक्किमले दार्जीलिङको मालिकाना हक गुमाइसकेको छ। त्यतिबेला सिक्किमले दार्जीलिङको भू-भाग इस्ट इण्डिया कम्पनीलाई दिएको हो। दार्जीलिङ सिक्किमबाट ट्रान्सफर भएको १८३५ मा हो। हामीले मालिकाना हक त्यतिबेलै नै दिइसकेकाले एसडीएफ पार्टी अहिले पनि त्यही डीडको पक्षमा दह्रिलो प्रकारले खड़ा छ। सिक्किमसित दार्जीलिङको मालिकाना हक छँदैछैन्। सिक्किम त्यस समय ब्रिटिसलाई दिएको मालिकाना हक उनीहरूले देश छोडेर जाँदा भारत सरकारलाई दिएको हो र भारत सरकारले पश्चिम बङ्गाल राज्य दिएको। अहिले दार्जीलिङका जनता यसको स्वतन्त्र मालिक छन्। उनीहरू सिक्किमसित कुनै करकाप बिनाका मालिक छन्। हामीले धेरै अघि मालिकाना हक तपाईँहरूलाई नै सुम्पिएका छौं। 

उनले यस अवसरमा एचएस हिस्लेले लेखेको ग्याजेटेड अफ् सिक्किम नामक पुस्तकको आधारमा पनि सिक्किमको सीमा दक्षिणमा ‘ब्रिटिस डिस्ट्रिक अफ् दार्जीलिङ’ बताइएकोले यो बारे नै सबै स्पष्ट हुनुपर्ने बताए।

अर्कोतर्फ दार्जीलिङको भूभाग सिक्किमले ब्रिटिश इण्डियालाई दिंदा लिएको पैसा माथि गोर्खा राष्ट्रिय कङ्ग्रेसले उठाउने गरेका प्रश्नको जवाफ दिंदै सन्धीका आधारमा त्यो रकम ब्रिटिश ईण्डियाले सिक्किमलाई विकास र कुशल प्रशासनका लागि दिएको तर जमीनको  किमत नरहेको बताए। उनले गोर्खा राष्ट्रिय कङ्ग्रेसलाई ऐतिहासीक तथ्यका आधारमा काम गर्ने सुझाउ दिए। सुब्बाले भने, कसैले पनि आफ्ना विचार राख्न पाउँछ तर त्यो ऐतिहासिक तथ्यका आधारमा हुनुपर्छ। भूराजनीति गर्दा तथ्य आवश्यक पर्छ। बिना तथ्य बोलर कसैको शान्ति विथोल्ने काम गर्नु हुँदैन्। 

अर्कोतर्फ एसडीएफ प्रवक्ता सुब्बाले घरी-घरी उठ्ने दार्जीलिङ सिक्किम एकीकरणको मुद्दा सिक्किमेली जनताका लागि ‘वेक अप कल’ रहेको बताए। उनले भने, अहिले चर्चामा आएको भूराजनीतिले सिक्किमेला जनता र माटोको बीचमा ठूलो ग्याप रहेको दर्शाउँदैछ। सिक्किमको जरा उखेलेर बाहिर यो ओखति हो भनेर बिक्रीगर्ने प्रयास हुँदैछ। सिक्किमेहरू अब जाग्नुपर्छ। सिक्किमको माटोलाई बचाएर राख्ने हो भने जाग्नुपर्‍यो सिक्किमेहरू। दार्जीलिङ, कालेबुङ र खरसाङका जनाताले गरेको सङ्घर्ष धेरै लामो भएर गएको छ। उनीहरूले यसको पिर खपेको छ भने सिक्किमले पनि यसको चोटपटक खपेको छ। तपाईँहरू आफ्नो विरतामा विश्वास गर्नोस्। विरताले भरिएको छात्तिलाई उच्च राख्नोस। त्याग र वलिदानले बनेको शीर उच्च राख्नोस्, अवश्य पनि एक न एक दिन तपाईँहरूको गोर्खाल्याण्डको सपना पूरा हुनेछ। हामी सिक्किममा एउटा राष्ट्र गुमाएर राज्यमा बसिराखेका छौं। यहाँदेखि उता हामी पनि प्रण गर्छौं हामी आफ्नो माटोमा लक्षुमण रेखा कोरेर राख्नेछौं। एसडीएफ पार्टी, पार्टी अध्यक्ष पवन चामलिङ र सिक्किमे जनता यस कुरामा वचनवद्ध छ, कटीवद्ध छ। 

अर्कोतर्फ एमके सुब्बाले गोर्खा राष्ट्रिय कङ्ग्रेसले सधैं उल्लेख गर्दै आएको तथा पश्चिम बङ्गाल सरकारले १९८६ मा ‘दार्जीलिङ सिक्किमको भूभाग हो’ भन्दै जारी गरेको श्वेतपत्रलाई अवैध घोषित गरे। संविधानको धारा तीनका आधारमा यसको अधिकार केन्द्र सरकारमा मात्र रहेको बताउँदै उनले पश्चिम बङ्गाल सरकारले जारी गरेको श्वेतपत्रलाई संविधानको विरोधमा रहेको ठहर गरे। देशको संविधानले प्रदान गरेको प्रावधानका आधारमा सिक्किम पूर्ण रूपले सुरक्षित रहेको तर वर्तमानको ‘राजनैतिक बजारमा’ सिक्किम ‘बिक्री’ भएको महसुश गरेकाले नै एसडीएफ पार्टीले सिक्किम-दार्जीलिङ एकीकरण मुद्दामा आफ्नो अड़ान राख्नु परेको पनि सुब्बाले बताए।

अर्कोतर्फ सिक्किम दार्जीलिङ एकीकरण मुद्दाबारे सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले राखेको बयानलाई ‘संवेदनहीन’ बयानको संज्ञा दिंदै  एसडीएफले यसको निन्दा गरेको छ।

Post a Comment

Previous Post Next Post