Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

विराट परिधिभित्रका हरिभक्त कटुवाल

भारतका उत्तर-पूर्वाञ्चलका मात्र होइन, समग्र नेपाली साहित्य जगतकैबिर्सिनसक्नु  प्रतिभा हुन् हरिभक्त कटुवाल। मूलतः गीतकार र कविका रूपमा सिद्धिप्राप्त गर्ने कटुवाल राम्रा  कथाकार पनि हुन्, नाटककार हुन्, निबन्धकार हुन्। यति मात्र होइन, बालसाहित्यिक, पत्रिका सम्पादक, चित्रकार केके  थिएनन उनी !  बहुमुखी प्रतिभाले परिपूर्ण व्यक्तित्व थिए कटुवाल।  आफ्नो सचेष्ट र संवेदनशील मनले एउटा युगलाई आत्मसात गरेर हिँडे उनले, आफ्नै शैलीले उतारे वैयक्तिकजस्ता लाग्ने  निर्वैयक्तिक विषयहरू। कम उमेरमै उनले साहित्यमा ख्याति प्राप्त  गर्नुको कारण उनको गहीरो जीवन दर्शन र सरल भावाभिव्यक्ति हो। जीवनलाई भोगेर खारिएका सर्जक कटुवालभित्र जुन ज्वार थियो, त्यसले  उनलाई साहित्यको शिखरमा चढाउँदै पाठकका हृदय हृदयसम्म विस्तारित गरिदियो।  
                 सन् १९३५को २ जुलाइदेखि सन् १९८० को १० सेप्टेम्बर –यति नै यस जगतमा  हरिभक्तको कायिक उपस्थितिको अवधि थियो। यति कम अवधिमा हरिभक्तले जति जे दिएर गए त्यही उनलाई अमर पार्न पर्याप्त रह्यो। असमको डिब्रुगढ जिल्लाको दिहिङमुखका वीरबहादुर र विष्णुमाया कटुवाल यस्तो प्रख्यात सन्तानको पितृ मातृ भई धन्य भए। छोटो जीवनमा लामा गोरेटाहरू हिँडे हरिभक्तले, भौगोलिक  सीमालाई उछिन्दै हिँडे। भोगे पर्याप्त, लेखे पर्याप्त। कहिले अँध्यारा गोरेटामा पाइला राखे, कहिले उज्यालो सुग्घर बाटामा। आदर्शका फ्रेमबाट निस्किएर आफै बनाउँदै हिँडे आफ्नै पैतालाले आफ्नो बाटो। हरिभक्त चर्चित भए दुवै रूपमा- अँध्यारो गोरेटाको र  उज्यालो बाटाको पथिकका रूपमा। उनले भोगेको,पिएको अँध्यारो उनीसितै गयो, उनले छोडेको उज्यालो तर छरपस्ट भयो  चारैतिर। हो, यही उज्यालो न हो हरिभक्तका भक्त बनाउने हामीलाई, जसको चर्चा परिचर्चा गरेर हामी थाक्दैनौँ अझै।
           सानैमा बसाइँ सरेर गएको ठाउँ बोगीबिलको पाठशालादेखि प्रारम्भ भएको हरिभक्त कटुवालको आनुष्ठानिक शिक्षा डिगबोइ कलेजमा बी ए सम्ममा टुङ्गिएको हो। आठौँ कक्षामा पढ्दा उनी गान्धीको नेतृत्वमा भएको स्वतन्त्रता सङ्ग्राममा पनि लागेका थिए। त्यो सङ्ग्रामको एउटा अंश बन्नाले उनी पछि पनि धेरैदिन खद्दरका लुगा र गान्धी टोपी लगाउने गर्थे।  लामो केश पाल्नथालेदेखि मात्र उनले गान्धी टोपी लगाउन छोडेका हुन्। आफ्नो शिक्षा ग्रहणको समाप्तिपछि कटुवालले सन् १९५६ देखि  पहिलो पेशामुखी पर्वको थालनी गरे पब्लिक हेल्थ इंस्पेक्टरका रूपमा। त्यसपछि सन् १९५९देखि डिगबोइको असम आयल कम्पनी नेपाली एम इ स्कुलमा शिक्षकका रूपमा जीवनको अर्को पाइला चाले।  त्यो पाइलासितै केही वलिष्ठरूपमा  थालियो उनको  साहित्यिक सांस्कृतिक यात्रा पनि, जुन पक्षप्रति सानैदेखि उनी रुचि राख्ने गर्थे। असमको स्कुलको त्यो जागिर छोडेर हरिभक्त कटुवाल जब काठमाण्डु पुगे, उनको जीवनको अर्को पर्व सुरु भयो। उनका रचनाहरूले  विस्तारित हुने मौका पाए। उनी आफू पनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जागिरे  भएका थिए। तर पछि त्यो जागिर छोडेर होटल र यता उता जागिरे बन्दै असम फर्किए। कतै चित्त बुझेको थिएन उनको, कतै अडिएका थिएनन् उनी। असम फर्किएर पनि उनी खटपटिए। असमबाट फेरि दोस्रो पल्ट कटुवाल नेपाल गए। अनि त्यसपछि ‘‘कहिले लेखकको रूपमा, कहिले विज्ञापन एजेन्टको रूपमा, कहिले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको विद्वान वृत्ति खाने लेखकको रूपमा , कहिले प्रेस र पत्रिकाको काम गर्ने कामदारको रूपमा उनले जागिर खाए’’। ( दैवज्ञराज न्यौपाने,  हरिभक्त कटुवालः केही स्मृति केही टिपोट,कवि हरिभक्त कटुवाल स्मृतिग्रन्थ, पृ.१२, १९८१) 
              नेपालमा श्रेष्ठ कवि र साहित्यकारका रूपमा हरिभक्त कयौँचोटि पुरस्कृत भएका हुन्, सम्मानित भएका हुन्। उनको साहित्यिक प्रतिभालाई उच्च मूल्याङ्कन गर्दै रायल नेपाल एकेडेमीले उनलाई सन् १९६२मा  'आकाशका तारा के तारा'  शीर्षक कविताका निम्ति सर्वश्रेष्ठ कविको रूपमा  रायल एकेडेमी पदक र मानपत्र  दिएको थियो। सन्  १९६६ मा  दोस्रो देशव्यापी साहित्य सेमिनारबाट उनले   'यो जिन्दगी खै के जिन्दगी'  शीर्षक कविताका लागि सर्वश्रेष्ठ कविकै रूपमा स्वर्ण पदक प्राप्त गरेका थिए। (स्मृतिग्रन्थ, पृ. १५३, १९८१)। सन् १९६७ मा सर्वश्रेष्ठ साहित्यकारका रूपमा रू. ६६० र मानपत्र उनले पुरस्कारस्वरूप पाएका थिए। त्यसैगरी सन् १९७०मा श्रीपाँचको सरकार शिक्षामन्त्रालयले पनि रु.१३०० र मानपत्र दिएर उनलाई सम्मान गरेको थियो। उनको प्रतिभाको परिचय यी सम्मान र पुरस्कार पनि हुन्।  तर यी पुरस्कारभन्दा पनि ठुलो पुरस्कार त उनले रचना गरेका कृति समाजमा समादृत हुनु थियो, समादृत भए। २४ वर्षको उमेरदेखि अर्थात सन् १९५९ देखि हरिभक्त कटुवालका विविध विधाका कृति प्रकाशित भए र ती कृतिहरूले उनलाई जनताको छेउ पुऱ्याए। यी कृतिहरू प्रकाशको समयक्रम अनुसार यसप्रकारका छन्- सम्झना (गीत सङ्ग्रह, १९५९), भित्री मान्छे बोल्न खोज्छ (कविता सङ्ग्रह, १९६१), सुधा (खण्डकाव्य, १९६५), यो जिन्दरी खै के जिन्दगी (कविता सङ्ग्रह, १९७२), स्पष्टीकरण (कथा सङ्ग्रह, १९७३),  बदनाम मेरा यी आँखाहरू ( गीत र कविता सङ्ग्रह, १९८७)। अन्तिम सङ्ग्रह बदनाम मेरा यी आँखाहरू उनको मृत्युपछि भीमकान्त उपाध्यायको सम्पादनमा प्रकाशित भएको हो। हरिभक्त कटुवालले सम्पादन गरी प्रकाश गरेका दुई साहित्यकृति पनि छन्- ऐतिहासिक कथा सङ्ग्रह(१९६३) र पूर्वकिरण ( असमका बाह्रजना कविका कविताको सङ्कलन, १९६४)। विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका अन्य रचनाहरू  पनि पाइन्छन्।  ती मध्ये कतिपय गीत, कविता, रेडिओ रूपक र एकाङ्की नाटक, निबन्ध, समालोचना, बालसाहित्य आदि सन् १९८१ मा उनको स्मृतिमा असमबाट प्रकाशित स्मृतिग्रन्थमा  समावेश गरिएको छ।
  गीतकारका रूपमा हरिभक्त कटुवाल श्रोताको  मनको नजिक छन् । स्कुलमा छँदै स्कुलका छात्रा छात्रालाई भनी रचेका गीतहरूको संकलन 'सम्झना' उनले १९६० सनमा प्रकाश गरेका हुन्। यही उनको प्रथम प्रकाशित कृति हो।  उनका गीत त छँदै छन्,  धेरै कविता पनि गीत बनेका छन्। नारायण गोपालले  उनका गीत गाएर उनलाई सशक्त गीतकारको रूपमा स्थापित गराइदिए।  नारायण गोपालले गाएका 'पोखिएर घामको झुल्का भरी संघारैमा', 'मलाई नसोध कहाँ दुख्छ घाउ', 'गलती हजार हुन्छन्' गीतहरूले हरिभक्तलाई श्रोताको नजिक पुऱ्याए। उनका प्रेमका गीतहरू, देशभक्तिका गीतहरू, जीवनबोधले भिजेका गीतहरूको आफ्नै मूल्य छ। सन् १९६५को पाक भारत युद्धमा मर्ने गोर्खाली सैनिकहरूको नाउँमा समर्पित यो देशको माटोले भन्छ  (हामीलाई निर्धो नसम्झ) गीति कवितामा लुकेको आत्मोत्सर्ग, स्वाभिमानको इतिहासको अभिधा र व्यञ्जनाले बोकेको अपरिमित मूल्यको कुरा यहाँका  कुन श्रोताले मर्म मर्ममा उपलब्धि नगर्लान्?     
           कविका रूपमा हरिभक्त सर्वमान्य प्रतिभा हुन्। असमका त नक्षत्रै हुन् उनी। ‘‘पूर्वाञ्चल साहित्याकाशको एक चम्किला तारा हुन् – हरिभक्त कटुवाल। उनको नामबिना भारतेली कविताको इतिहास अधुरो हुन्छ ’’- मोहन ठकुरी आफूले सम्पादन गरेको  'स्वतन्त्रोत्तर नेपाली कविता'(२००८)को भूमिकामा यसरी लेख्छन् भने लीलबहादुर क्षत्री  'सिमलको भुवा' शीर्षक ग्रन्थमा लेख्छन्- ‘’वास्तवमा असमको काव्य साहित्यले हरिभक्त कटुवालका कविताबाटै एउटा नौलो प्रयोगवादी गति पाएको हो ’’ हरिभक्त कटुवाल रचना संचयनको सम्पादकीयमा कवि हरिभक्तको बारेमा नवसापकोटाको भनाइ यस्तो छ-‘‘हरिभक्त कटुवालको एउटै पर्यायवाची छ- कवि! उनी कवि थिए- एउटा पूर्ण कवि! ....महाकवि देवकोटापछि हरिभक्त कटुवालबाहेक अरू को बन्न सक्यो खै प्रकृत कवि?’’   कटुवालले अरू केही नलेखेर यति कविता मात्रै लेख्थे भने पनि आज उनको नाम पाठकले यति नै समादरसाथ लिने थिए होलान्, कवितामा उनले यति शिखर छोएका छन्। 
            सन् १९५०देखि १९८० सम्मको अवधिलाई पूर्वाञ्चलीय नेपाली कविताको दोस्रो चरण मान्नु हो भने हरिभक्त यही चरणका सशक्त कवि हुन्। स्वच्छन्दतावादी धाराबाट काव्य  रचना सुरू गरी  यसपछिको प्रयोगवादी धारामा पुगेका कविले समकाल चेतनालाई अङ्गालेर जीवन भोगाइका तीता मिठा अनुभवहरू व्यक्त गरेका छन्। उनका कविता जति गीतिमय र विम्बात्मक छन्, त्यति व्यङ्ग्यात्मक पनि।  समाजका बेथिति, दुर्नीतिहरूप्रति विद्रोह र व्यङ्ग्यको तीव्र स्वर छ कविताहरूमा।  तर प्रेम पनि  छ , भविष्यप्रतिको आस्था  पनि छ। आफैलाई सन्दिग्ध कालको जरासन्ध ठान्ने कवि भारत र नेपालको बिचमा जसरी अल्झिए त्यसरी अल्झिए आशा र निराशाको बिचमा। कहिले विद्रोहको चर्को आवाज निकाले उनले, कहिले आफ्नै पीरमा पौडिए। जीवनका कयौँ रङ पोख्ने  कटुवालका उल्लेखयोग्य कविता अनेक छन्। 'भित्री मान्छे बोल्न खोज्छ', 'आकाशका तारा के तारा', 'मन त फलामकै भए असल हुन्छ',  'प्रतिबन्ध आफ्नै आँखाहरूमाथि',  'रहर', 'बिसाइदेऊ यात्रा जिन्दगीको', 'दाइ कविता! खै कविता !' आदि कविताले उनलाई मूर्ध्यण्य कविका रूपमा  परिचित गराएका छन्। 
             कविमा समकालले जन्माएको नैराश्य छ । ‘'यो घर जहाँ म बस्छु यो भित्ता चर्किदैँछ’'( कसरी भनुँ म बाँचे)भन्ने अनुभव गर्छन् उनी। जिन्दगीलाई अन्तिम पातो पनि च्यातेपछिको एउटा ठुटो चेकबुकजस्तै ठान्छन्( यो जीवन) । उपलब्धि गर्छन्  यस्तो  यथार्थलाई-
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
 खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ
 आँखा चिम्लन पनि जगजगी
 आँखा उघार्न पनि जगजगी। ( यो जिन्दगी खै के जिन्दगी) कविलाई यस्तो कठोर वर्तमानले सम्पूर्ण  पराभूत त  गर्न  सकेन। उनले प्रशस्त विश्वास पोखे तन्नेरीहरूमा र आफैमा। ‘‘ एक हर्केमा एक वीरेमा एकेक सूर्यको शक्ति निहित छ’’ ( आकाशका तारा के तारा) भन्ने विश्वास उनमा छ भने आफूमा त झन् के कुरा! 
‘‘फ्रेम हालेर राखेको आदर्शभन्दा 
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
 बनिसकेको बाटामा हिँड्नभन्दा 
बाटो बनाउँदै हिँड्न मलाई रहर लाग्छ’’ ( रहर) भन्दै  परम्पराप्रति, थोत्रिसकेका पुराना सूत्र र मान्यताहरूप्रति विद्रोह गर्दै नयाँ आदर्श, नयाँ बाटो बनाउने चाहाना राख्ने कवि आफूमाथिको विश्वास पोख्छन् यसरी- ‘‘ मलाई त जिउने रहर छ आफ्नै विश्वासको भरमा’’( साथीलाई)। 
              कविमा साम्यवादी चिन्तन छ। उपेक्षित, शोषित वर्गप्रतिको समवेदनासहित उनीहरूको पीडाबोध लिएर निकैवटा कविता उनले लेखेका छन्। उनीहरूको कठोर वर्तमानमा नयाँ किरणको उज्यालो छर्ने अभिलाषा छ कविको। यस प्रसङ्गमा अग्निबहादुर छेत्रीको अभिमत यस्तो छ--‘‘कटुवाल कट्टर साम्यवादी थिए।...यो श्रेणीवैषम्यले उनको कवि हृदयमा बज्रप्रहार गर्थ्यो। फलस्वरूप, अति असह्य वेदनामा उनी छटपटाउँथे, गुनगुनाउँथे अनि झट्टै नै यसमा एउटा पूर्ण परिवर्तन ल्याएर दलित वर्गको म्लान अनुहारमा नयाँ सूर्यको सुनौलो किरण पार्ने संकल्प गर्दै मात्र थोरै दिनको लागि धैर्य धारण गरिदिनको निम्ति कविले अनुरोध गर्थे।’’ (स्मृतिग्रन्थ, कवि हरिभक्त कटुवाल स्मृति समिति, १९८१, पृ १७)  
 देशप्रेमका कविता, जातीयबोध र अस्मिताका कवितामा पनि कवि हरिभक्तको पारदर्शी कलम चलेकै छ। 'खै मान्यता यहाँ आत्माहूतिको बलिदानको', 'रातको घेरामा एक्लै म' जस्ता कविताले यस्तै पक्षलाई प्रकट गर्छन्। पहिलो  कविताको प्रसङ्ग तान्दै  भीमकान्त उपाध्याय लेख्छन्-‘‘ कति साँचो र कति मर्मस्पर्शी अभिव्यक्ति! यसलाई निश्चय नै कवि कटुवालको उडन्ते कल्पना अथवा मातेको बेलाको बकबक भन्न नमिल्ला। कवि कटुवालले हामीले मुटु मिच्दै भोग्नु परिरहेको हाम्रो विवश जिन्दगीको करुण गाथालाई प्रस्तुत गरेका छन्..।’’( सर्सर्ती पढ्दा, पृ.५७)
  ‘‘नसम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थेँ’’, अथवा ‘‘ यसैले म भन्छु तिमी मुस्कुराऊ, मलाई नसोध कहाँ दुख्छ घाउ’’ जस्ता गीतमा रहेको प्रेमका स्वप्न,अभिलाषा र अभिमानजस्ता भावनाहरू कति कवितामा पनि छन्।  ‘‘यति स्वप्न लिई तिमी आइदियौ कि यो जिन्दगी नै अब स्वप्न भयो’’ ( तिमी फूलहरूमा किन हाँसिदियौ) भन्ने कवि उमेर ढल्किन लागेकी अनुराधालाई भन्छन्-
‘‘ तैसैले बिसाइदेऊ यात्रा कसैको अँगालोभरि
 अनु! घरका झ्याल ढोका त्यसरी टम्म थुनेर
 एकोहोरो ऐना नहेर ऐना नहेर
 बैँस छेकिदैन ऐनाको घेरामा बाँधिएर"।( बिसाइदेऊ यात्रा जिन्दगीको)। 
यथार्थमै कवि हरिभक्तका कवितामा सर्वकालका पाठकले रुचाउने काव्यिकता छ, सुन्दर शैली र लयात्मकता छ, चुम्बकीय आवेश छ। 
               शिलङको रमणीय स्थान सुनाकुरुङको पृष्ठभूमिमा रचित सुधा खण्डकाव्यमा  सुधाको जीवन भोगाइ र आत्महत्या गर्न खोज्ने  घटनालाई सरल सरस र सहज परिपाटीमा उनले वर्णन गरेका छन्। अन्त्यतिर उसलाई जीवनप्रतिको सकारात्मक ऊर्जा  भर्ने स्वर सुनाएर आफ्नो सकरात्मक दृष्टिकै परिचय दिएका छन् कविले।  - ‘‘म बाँच्दछु!  म भाँच्दछु- विषालु दाँत सर्पका, नरेन्द्रझैँ पुरुषका जो हिँड्दछन् छली छली’’  भन्दै सुधा पुनः जीवनप्रति  आग्रही बन्नु कविको जीवनप्रतिको आशावादी दृष्टिकै द्योतक हो। 
 कथाकार हरिभक्त कवि हरिभक्तजति प्रखर छैनन् तापनि उनको कथासङ्ग्रह 'स्पष्टीकरण'मा विशेष कतिपय पक्षलाई राम्रोगरी पाठकसामु राखेका छन्।  सूक्ष्म दृष्टिकोणले लेखिएका छोटा छोटा कथाहरूले  ठुला संदेश वहन गरेका छन्। 'मनुदिदी', 'शङ्का', 'नरमाया', 'बाबु', 'तृप्ति'जस्ता कतिपय कथाहरू उनलाई कथाकारका रूपमा पनि स्थापित गर्न सक्षम छन्। कतिपय कथाको भाषामा पनि काव्यिकता छ।  छोटा छोटा वाक्यले जीवनको दर्शनलाई अति राम्रो गरी परिस्फूट गरेका छन्। तृप्ति शीर्षक कथाको भाव र भाषा हेरौँ-
  ‘‘- भावुकता र वास्तविकता दुइमा धेरै फरक छ।
-छ। तर भावना नै सृष्टिको मूल हो भन्ने मेरो धारणा छ।
-असम्भव।
-त्यही असम्भवलाई सम्भव पार्न अभियान गर्दैछु।
-तिमी हार्छौ। सक्दैनौ।
 -न सकुँला। तर, सकिन भन्ने चिन्ता मलाई किञ्चित हुने छैन।
-किन?
 -किनकि, असफलता नै मानवको प्रकृत गुरु हो।...’’
               कटुवाल एकजना नाटककार पनि हुन्। उनले सामाजिक नाटक लेख्न , खेल्न र निर्देशन गर्नमा पनि नाम कमाएको देखिन्छ। उनका केही एकाङ्की पत्र पत्रिकामा प्रकाशित छन्। आकाशवाणी गुवाहाटीबाट ती प्रसार पनि भएका थिए। मुक्ति पथ रेडियो रूपकमा जीवन मृत्युप्रतिको बुद्धको दर्शन छ भने  युगको हाँक एकाङ्कीमा प्रगतिवादी विचारको अभिव्यक्ति छ।  त्यसरी नै ढुङ्गाका मान्छे शीर्षक एकाङ्कीमा समाजमा भएको शोषण र षडयन्त्रको साथै परिवर्तनकामी मनको झलक छ।  
              निबन्ध लेखकका रूपमा पनि कटुवालको केही योगदान देखिन्छ। 'अनाम गोर्खाली सैनिकको चिहानमा एउटा बिहान', 'आसाममा नेपाली साहित्यको गतिविधि', 'बान्कीको जन्म', 'कविताः भूपीः क्रिकेट आदि' उनका केही उल्लेखयोग्य निबन्ध हुन्। म. वी वी शाह रचित कविताहरूको संकलन 'उसैको लागि'को समालोचना पनि उनले लेखेका छन्। कटुवालका  कतिपय निबन्धमा व्यङ्ग्य छ। प्रश्नोत्तरको शैलीमा लेखिएको  परिवर्तनशील युग शीर्षकको एउटा निबन्धको समीक्षा गरी आफ्नो एउटा पुस्तकमा डा. खेमराज नेपाल लेख्छन्- ‘‘... हरिभक्त कटुवाल एक सफल हास्य व्यङ्ग्यकारका रूपमा देखिन्छन्।कविता विधामा जताततै सफलताको सिँढी चढेका कटुवालका व्यङ्ग्य रचना त्यति पाइँदैनन् तापनि जति पाइन्छन् त्यतिमै उनी सिँढी चढेको अनुभव हुन्छ।’’ ( केही कृतिः केही आकृति,पृ. ५२, २०१६)।
               हरिभक्त कटुवालको अर्को परिचय पाइन्छ बालसाहित्यकारका रूपमा। उनले बाल एकाङ्की, कथा, कविता, गीत लेखेर नवोदित साहित्यपथिकका आँखामा उज्यालो भर्ने काम गरेका छन्। कटुवालका  बालगीतहरूमा पनि आकर्षक चूम्बकीय शक्ति छ। नानीहरूका लागि लेखिएको एउटा सुन्दर गीतको दुई पंक्ति यहाँ उद्धृत गर्न मन लाग्यो-
 पहिलो दलः  कहाँ जाने कहाँ जाने पुतलीको हूल?
 दोस्रो दलः  जहाँतहाँ फुलेका छन् मीठा  मीठा फूल।...
  कटुवालले चित्रकारिता पनि आफ्नो नैपुण्य देखाएका थिए। त्यतिमात्र होइन,  पत्र पत्रिकाको सम्पादन गरेर अनेकौँ सर्जकलाई साहित्य विधामा उनले अघिबढ्न सघाए। उनले सम्पादन गरेका केही  पत्र पत्रिका हुन्-मुक्ति( १९५८),हिमालय( १९६३), प्रज्ञा( १९७०), हिमानी( १९७०),संगीत सरिता( १९७१), बान्की( १९७१), अभिव्यक्ति( १९७८, संयुक्त रूपमा), र’दालि( असमीया स्मृति पत्रिका, असम साहित्य सभा) आदि। 
नेपाली असमीया बङ्गला, मिसिङ, हिन्दी अंग्रेजी भाषामा व्युत्पत्ति भएका हरिभक्त कटुवालले अनेक भाषामै भाषिक प्रस्तुति दिएका छन्। असमीया उनको एउटा प्रिय भाषा नै थियो।  असमीया कवि साहित्यिकद्वारा उनी प्रभावित थिए भने उनले पनि यस भाषाको लागि केही योगदान दिएरै गए। 
 हरिभक्त कटुवालले एउटा कठिन जीवन भोगे। टाल्न खोज्दा उप्किहाल्ने जीवन, भर्न खोज्दा रित्तिहाल्ने जीवन।  अविनाश श्रेष्ठसितको एउटा साक्षातकारमा कटुवालले भनेका रहेछन्- ‘‘म यस्तै छु सधैँको एक्लो, एकलकाटे।  कवि रविन्द्रनाथको ठाकुरको पंक्ति याद आउँछ- ‘केउ जदि तुमार डाक सुने ना आसे, तबे एक्ला चलो रे,एक्ला चलो।’ यही मेरो जीवनको महामन्त्र हो। ...’’( स्मृतिग्रन्थ, पृ. १०१, १९८१)। विवाहित भएर पनि, चारचार सन्तानका पितृ भएर पनि,आत्मीय र साथीभाइ हुँदाहुँदै पनि के थियो उनीभित्र यस्तो एक्लो अनुभव गर्न वाध्य गर्ने पीडा, त्यो बुझ्न साह्रो थियो। कटुवालको स्मृतिग्रन्थमा अविनाश श्रेष्ठ लेख्छन्-‘‘कवि कटुवालका मनमा कुनै गहिरो दुक्ख थियो, त्यो कसैले बुझेर बुझ्ने साध्ये पनि थिएन। ..दुक्ख नै उहाँको ओढ्ने ओछ्याउने बनिसकेको थियो।’’ (स्मृतिग्रन्थ, पृ. ४३, १९८१)। आफैलाई निः सङ्ग ठान्ने कटुवालले  पत्नी जयकुमारी कटुवाललाई  पनि दुःखै दिए। सबै सङ्गीभन्दा जुन मात लाग्ने सङ्गीलाई प्रिय बनाए, त्यसले उनलाई अँध्यारो गोरेटैगोरेटो हिँडायो। त्यसकै लागि समाजबाट पाए  उपहास र अनादर अपमान अवहेलना। काठमाण्डुबाट बिरामी भएर अन्तिमपटकका लागि घर फर्किएपछि  कटुवाल दिवंगत भए। उनको अन्तिम संस्कारका लागि मात्र एघार बाह्रजनाजति मलामी भेला हुनु कति दुःखद् कुरा हो।  तर सान्त्वना के भने, उनको मृत्युपछि भएपनि उनी एउटा विराट परिधिभित्रको विराट कायाहीन काया बन्न पुगे। कटुवाल समाजको कल्याण चाहान्थे, समाजकै शोषितजनका लागि मरिमेट्थे। मरिमेट्थे साहित्यका लागि। वास्तवमा त्यही अवदान अमृतसरी भएर उनलाई बचाइराख्यो। नभए उनी अबउप्रान्त त्यो बाटो हिँड्दिनँ भन्दै बारम्बार बाचा बाँध्दै र बाचा तोड्दै हिँडेको त्यही कालोतल  हराउने  थिए होलान्। शब्दब्रह्मले उनलाई जोगाइराख्यो समाजको ढुकढुकीभित्र। 
               एउटा महाकाव्यलाई एउटा कविता अथवा कथामा समेट्न खोज्नुजस्तो असम्भव कुरा हो हरिभक्त कटुवालजस्ता व्यक्तित्वलाई एउटा निबन्धमा समेट्नु। एउटा सिङ्गो घामको एउटा किरणको धागाको एकछेउजस्तै होला यो लेख अथवा त्योभन्दा कम केही। हो, स्वीकार छ, हरिभक्तलाई हेर्ने एक बिन्दु दृष्टि मात्र हो यो।
................................
लेख: डा. इन्दु प्रभा देवी,
प्राध्यापिका, बी.बरुवा कलेज, गुवाहाटी

Post a Comment

Previous Post Next Post