"चितासँगै काया जल्छन, जल्दैनन् तर कृतिहरु मृत्युसितै शरीर मर्छन्, मर्दैनन् तर कृतिहरु
जिवन त केवल दुई दिने हो, अमर बन्छन् सुकर्महरु
मरेपनि युगयुग बाच्छन्, युगले जन्माएका सर्जकहरु
मरेपनि युगयुग बाच्छन्, युगले जन्माएका सर्जकहरु "
नेपाली साहित्य जगतमा सदैव बाँचिरहने एउटा चिरनाम हो भानुभक्त आचार्य। यस सन्सारमा नेपाली भाषीहरु जबसम्म अस्तित्ववान रहन्छन् तबसम्म पुजनीय र अझ सान्दर्भिक भएर बाँचिरहने नाम हो भानुभक्त आचार्य। यीनै पुज्य 'आदिकवि' भानुभक्त आचार्यको आज २०७ औं पवित्र जन्मजयन्ती।
वाल्मीकिद्वारा रचित रामायणको अनुवाद मार्फत नेपाली भाषिक एकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने नेपाली साहित्यका 'आदिकवि' भानुभक्त आचार्यको जन्म पश्चिम नेपालको तनहुँ अन्तर्गत रम्घा भन्ने ठाउँमा वि. सं १८७१ असार २९ गते तदानुसार सन् 1814 को 13 जुलाईको दिन भएको थियो।
धनञ्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा जन्मिएका भानुभक्त आचार्यले बाजे श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाएका थिए। उनले एकजना घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
नेपाली साहित्य लेखनका प्रथम निपुण कारिगर भानुभक्त आचार्यले बाल्मिकीद्वारा रचित रामायण सरल र सहज नेपाली भाषामा अनुवाद गरेका थिए भने प्रश्नोत्तर, रामगीता, भक्तमाला, वधुशिक्षा र फूटकर कविताहरु रचना गरेर नेपाली साहित्यको ढिकुटी समृद्ध पारिदिएका छन्।
आदिकवि भानुभक्त आचार्य छिमेकी मुलुक नेपालमा जन्मिए पनि उनलाई नेपालले भन्दा अघि र अधिक भारतीय नेपाली भाषी गोर्खाहरुले नै चिने। रामायणको प्रकाशन र प्रसारण मात्रै होइन, भानुभक्तले 'आदिकवि'-को श्रीपेच पनि सर्वप्रथम भारतबाटै पाए। मोतिराम भट्टले वि.सं १९४८ मा 'भानुभक्तको जीवन चरित्र' नामक जीवन छापेर भानुभक्त आचार्यलाई 'आदिकवि'-को संज्ञाले सुशोभित गरे।
सूर्य विक्रम ज्ञावली, धरणीधर कोइराला र पारसमणि प्रधान जस्ता जातीय चेतनाका अगुवाहरुले भानुभक्तको केन्द्रीयतामा नेपाली भाषीहरु संगठित हुदैछन् भन्ने कुरा बोध गरे र त्यसलाई बौद्धिक अभिव्यक्ति दिए अनि त्यो बौद्धिक अभिव्यक्तिलाई उनीहरुले साहित्य सम्मेलनको माध्यमले भानु जयन्तीको पालन गर्ने, भानुभक्तको सालिक स्थापना गर्ने अभियानको रूपमा अघि बढाए। त्यस्को सिको नेपालमा २००७ सालको प्रजातन्त्र स्थापन पछि मात्र भयो। भारत स्वतन्त्रता पूर्व सन् १९३९ मा नै भारतको दार्जिलिङबाट सूर्य विक्रम ज्ञावलीको प्रयासमा 'भानुभक्त स्मारक ग्रन्थ' प्रकाशित भयो भने स्वतन्त्रता पछि कालेबुङबाट सन् १९५२ मा भाई चन्द्र प्रधानको 'आदिकवि भानुभक्त आचार्य' नामक आलोचनात्मक ग्रन्थ र त्यही साल डा. पारसमणि प्रधानको सम्पादनमा 'भानुभक्त ग्रन्थवली' प्रकाशित हुन्छ। यसैबिच सन् १९४९ को १७ जूनको दिन नेपाली साहित्य सम्मेलनको सत्प्रयासमा दार्जिलिङको चौरस्तामा आदिकवि भानुभक्त आचार्यको पहिलो पूर्णाङ्ग सालिक स्थापना भएको थियो। यसको ठिक १० वर्षपछि मात्र सन् १९५९ तिर नेपालको रानी पोखरी छेउ भानुभक्त आचार्यको अर्को सालिक स्थापित भएको थाहा लाग्छ। यता कालेबुङमा १९६७ मा आदिकविको सालिक निर्माण भएको थियो। उता नेपालमा सन् १९६९ देखि भानुभक्त आचार्यको तस्विर हुलाक टिकटको रूपमा प्रयोग गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्न थालेका थिए। यसपछि भानुभक्तलाई राष्ट्रिय कवि, जातीय कवि र नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुषको रूपमा सर्वत्र चिन्न र पुज्न थालिएको थियो।
आदिकवि भानुभक्त आचार्यलाई सम्मान गर्न तथा उनलाई चिरस्मरणीय बनाई राख्न भानु सम्बन्धित विभिन्न पुस्तक प्रकाशित हुन थाल्यो भने भानु पथ, भानु भवन, भानु चोक, भानु उद्यान, भानु समाज आदि जस्ता नामकरणहरु गर्न थालिए। सन् १९६९ मा दार्जिलिङको माल रोडलाई 'भानु सारथी' नामकरण यस दिशातिरको पहिलो कदम हो भन्न सकिन्छ।
विश्वको विभिन्न मूलुकमा बसोबास गर्ने नेपाली भाषीहरुले प्रत्येक वर्ष भानुभक्त आचार्यको जन्म जयन्ती धुमधामकासाथ मनाएर उनलाई सम्मान जनाउँदै आएका छन्। भानु जयन्ती मनाउने परम्पराको थालनी आजभन्दा लगभग ७ दशक अघि भारतको दार्जिलिङदेखि नै शुरु भएको हो। सन् १९५३ तिरदेखि असम लगायत पूर्वोत्तर भारतमा पनि भानु जयन्ती जातीय पर्वका रूपमा मनाउन थालिएको थाहा लाग्छ।
नेपाली भाषीहरुका भाषीक र भावनात्मक एकताका आदि सुत्रधार आदिकवि भानुभक्त आचार्यले वि.सं १९२५ असोज ६ गते तदानुसार सन् 1868 को 20 सितम्बरको दिन भौतिक आँखा चिम्ले।
Post a Comment