गुवाहाटी,२८ जुन: गोर्खा विद्यार्थीहरुको लागि एउटा राम्रो खबर। आउँदो जुलाई महिनाभित्र कृष्ण कान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाली मातृभाषा विषयमा नाम भर्ती प्रक्रिया शुरु हुने थाहा लागेको छ।
आज अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका सभापति अर्जुन छेत्री, मूल सचिव नोमल छेत्री, स्नातकोत्तर तहमा नेपाली मातृभाषाको पाठ्यक्रम प्रस्तुत गर्नको लागि गठन गरिएको विशेषज्ञ समितिका सदस्य डा. खगेन शर्मा, डा. इन्दुप्रभा देवी र ढाकाराम काफ्ले भएको एउटा टोलीले गुवाहाटीको खानापारास्थित कृष्णकान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालयको कार्यालयमा पुगेर उप कुलपति कन्दर्प कुमार दाससित सौहार्दपूर्ण भेटवार्ता गरेको छ। उक्त टोलीले उप कुलपति कन्दर्प कुमार दाससँग नेपाली मातृभाषाको पठनपाठन शुरु गरिने विषयको अग्रगति बारे सौहार्दपूर्ण छलफल गरेको जानकारी प्राप्त भएको छ।
आग्सुका केन्द्रीय मूल सचिवले दिएको जानकारी अनुसार, कृष्ण कान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालयको स्नातकोत्तर तहमा आउँदो जुलाई महिनाभित्र नेपाली मातृभाषा विषयमा नाम भर्तीको प्रक्रिया शुरु गर्ने कुरा विश्वविद्यालय कर्तृपक्षले बताएको छ।
Post a Comment