Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
दार्जिलिङ, ६ जुन,२०२१: पश्चिम बङ्गालको जलपाईगुड़ी जिल्ला (डुवर्स) अन्तर्गत बाग्राकोट चिया बगानको मालबजारका एकजना गोर्खा युवकले हालैमा केन्द्रीय सशस्त्र पुलिस बल (CAPF) चयन प्रक्रियाको बेला प्रस्तुत गरेको आफ्नो गोर्खा प्रमाणपत्र विभागले अस्वीकार गरेको थियो। उनी डुवर्स निवासी भए तापनि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) क्षेत्र- दार्जीलिङ्ग र कालेबुङ्ग जिल्लाहरूका निवासी नभएको कारण चयन प्रक्रियामा उनको गोर्खा प्रमाणपत्र स्वीकार गरिएको थिएन।
समग्र मामिला प्रकाशमा आएपछि आज भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता तथा दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्रचार गरेका छन्।
जानकारी अनुसार, सांसद विष्टले गृह मन्त्रालयद्वारा १९/११/२०१८ मा जारी गरिएको अधिसूचना संख्या १- ४५०२०/२१/२०१८- Pers-II तर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्, जसमा गोर्खा युवाहरुलाई केन्द्रीय सशस्त्र पुलिस बलमा भर्तीको समयमा उचाइमा केही छुटको प्रावधान छ।
सम्भवतः अधिसूचना प्रसारणमा प्रशासनिक त्रुटिका कारण गोर्खा रेक्रुटहरूलाई उचाइमा प्रदान गरिएको छुट खासगरी GTA क्षेत्रमा बसोवास गर्ने युवाहरूलाई मात्रै दिइँदै छ र भारतका अन्य क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूलाई यस छूटबाट वञ्चित गरिएको कुरा सांसद बिष्टले गृहमन्त्री अमित शाहलाई अवगत गराएका छन्।
केवल GTA क्षेत्रका गोर्खाहरूलाई मात्रै होइन, समग्र भारतभरी बसोबास गर्ने गोर्खा युवाहरु माथि केन्द्रीय सशस्त्र पुलिस बल (CAPF) मा भर्नाको समयमा उचाइमा प्रदान गरिएको विशेष छुटको प्रावधान लागू गरियोस् भनी सूनिश्चित गर्न देशका गृहमन्त्री अमित शाहको हस्तक्षेपको निम्ति अनुरोध गरेका छन् सांसद राजु बिष्टले।
Post a Comment