सिक्किम,३० जून: गत् केही दिनदेखि सामाजिक सञ्जालमा चुलिएको सिक्किम-दार्जिलिङ विलय सम्बन्धी मुद्दा विषयमा सिक्किमको सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले आज प्रतिक्रिया व्यक्त गरेको छ।
मुख्यमन्त्रीका राजनैतिक सचिव तथा सिक्किमको सत्तारुढ पार्टी एसकेएमका प्रमुख प्रवक्ता जेकोब खालिङले आज गान्तोकमा पत्रकार सम्मेलन सम्बोधन गर्दै आफ्नो पार्टी र सरकारको अडान स्पष्ट पारेका छन्।
जेकोब खालिङले सिक्किम दार्जिलिङ एकीकरणको मुद्दामा सिक्किम समर्थन नभएको बताउँदै भनेका छन्- जसको जनाधार शून्य छ अनि जनाधार नभएको पार्टीले उठाएको मुद्दालाई हामीले महत्त्व दिन चाहेका छैनौं। यो मुद्दा दार्जिलिङका सम्पूर्ण जनताको भएका भए हामी त्यसको बहस, तर्क गर्ने थियौं। यो टाउको दुखाउनुपर्ने विषय होइन किनकि इतिहास र कानुन अनि जनताका बिचारको मापदण्डबाट पनि यो हुने कुरो होइन।
पत्रकार सम्मेलनमा खालिङले थप भने- अरूलाई दिएको गिफ्ट फर्काइ मागिँदैन। हामी गिफ्ट फर्काइ माग्ने लालची वर्गमा पर्दैनौं तर दानी वर्गमा पर्छौं। हामी पक्ष, विपक्ष र जनता सबै यति सभ्य छौं कि पिता-पुर्खाले एक समय दिएको गिफ्ट फर्काइ माग्दैनौं। बरू यति आशा गर्छौं कि जस्लाई गिफ्ट दिइएको छ त्यसलाई सुरक्षित राखिदिनोस्, त्यसलाई समालेर राखिदिनोस्, शान्तिसँगै भविष्य सुरक्षित गरेर बसिदिनोस् तर त्यस गिफ्टलाई मागि खाने भाँड़ो नबनाउनोस्। भूमिदान सर्वोत्तम दान हो। गोर्खा राष्ट्रिय कङ्ग्रेसका नेतृत्वहरुले बुझ्नुपर्छ, मानवमा हुनुपर्ने चरीत्रलाई आत्मसात गर्दै एक समय दिएको गिफ्टलाई सम्हालेर राख्नुहोस तर गिफ्टलाई मागी खाने भाँडो बनाउनुहोस्, सिक्किम दार्जिलिङको सम्बन्धलाई बिगार्ने कुचेष्टा नगर्नुहोस्।
सिक्किम दार्जिलिङ विलयको मुद्दा नयाँ होइन। यस मुद्दाको चर्चा पहिले भएको हो तर तिनताक सोसियल मिडिया सक्रिय नभएको हुनाले यो प्रकाशमा आउन सकेन। राजनीतिको परम धर्म जनताको भावनालाई सम्मान गर्नु हो।
स्मरण रहोस्, गोर्खा राष्ट्रीय कङ्ग्रेसले सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दा उठाएपछि सिक्किम साथै दार्जिलिङमा यस मुद्दा विरुद्ध सामाजिक सञ्जालमा व्यापक रुपले विरोध उठ्न थालेको छ। आज एसकेएमको तर्फबाट प्रतिक्रिया दिएपछि यस मुद्दालाई पूर्णविराम लगाइने चेष्टा गरिएको छ भने समचार लेख्नन्जेलसम्म गोर्खा राष्ट्रिय कङ्ग्रेसको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।
Post a Comment