Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दालाई घोर निन्दा अनि भर्त्सना जनायो भाजपा सिक्किमले

 


गान्तोक,३०जून: गत केही दिनदेखि सामाजिक सञ्जाल अनि सञ्चार माध्यमहरूमा सिक्किम र दार्जीलिङबीचको मैत्रीपूर्ण सम्बन्धमा फाटो ल्याउने उद्देश्यले प्रेरित राजनीतिक क्रियाकलाप अनि बयानबाजीलाई भारतीय जनता पार्टी, सिक्किमले गम्भीरतापूर्वक लिएको बताउँदै भाजपा सिक्किम प्रदेश समितिका अध्यक्ष डीबी चौहानले एक प्रेस विज्ञप्ति जारी गर्दै भने- सिक्किम दार्जिलिङ एकीकरणको मुद्दालाई भाजपा, सिक्किम सम्पूर्ण सिक्किमेली जनताको तर्फबाट घोर निन्दा अनि भर्त्सना जनाउँदछ। 


उनले थप भने- दार्जीलिङ केन्द्रित एउटा तथाकथित राजनीतिक दलले सिक्किम र दार्जीलिङ एकीकरणको माग गर्दै पश्चिम बङ्गालका राज्यपाल जगदीप धनकड़समक्ष ज्ञापन चढ़ाएर सिक्किम र दार्जीलिङवासीको भावनामाथि खेलवाड़ गर्ने जुन किसिमको दुस्साहस गरेको छ, भाजपा सिक्किम सम्पूर्ण सिक्किमेली जनताको तर्फबाट त्यसको घोर निन्दा अनि भर्त्सना जनाउँदछ।


सिक्किम र दार्जीलिङको आ-आफ्नै भौगोलिक, राजनीतिक तथा मौलिक पहिचान रहेको छ भने संवैधानिक रूपमा पनि दार्जीलिङ र सिक्किमको आ-आफ्नो पहिचान रहिआएको छ। हामी दुवै क्षेत्रका वासिन्दा एक-अर्काको साह्रो-गाह्रोमा सहयोग अनि मैत्रीपूर्ण सम्बन्धमा साथ दशकौंदेखि बाँधिएका छौं। यसै गरी दार्जीलिङ क्षेत्रमा दशकौंदेखि चलिआएको अलग राज्यको मागबारे पनि सिक्किमवासीले सधैं हृदयबाट साथ र समर्थन गर्दै आएका छन्। यस्तोमा दुवै क्षेत्रको राजनैतिक तथा मौलिक पहिचानमा धक्का लाग्ने किसिमको राजनीतिक षड्यन्त्र जुन प्रकारले उक्त राजनीतिक दलले गरेको छ, यसले एकातिर सिक्किमलाई प्राप्त संवैधानिक सुरक्षालाई चुनौति दिएको छ भने अर्कोतिर दार्जीलिङवासीको दशकौंदेखिको अलग राज्यको मागलाई पनि चपरीमुनि गाड्ने प्रयास गरेको छ भनी भाजपा सिक्किमका अध्यक्ष चौहानले बताउँदै फेरि भने यस अतिरिक्त उक्त राजनीतिक क्रियाकलापले एकातिर दार्जीलिङप्रतिको सिक्किमवासीको भावनात्मक सम्बन्धलाई बिगार्ने दुष्प्रयास गरेको छ। अलग राज्यको निम्ति चलेको आन्दोलनमा शहीद बनेका गोर्खाहरूको पनि अपमान गरेको छ। यस प्रकारको षड्यन्त्रको भाजपा सिक्किम कड़ा शब्दमा भर्त्सना जनाउँदै आगामी दिनमा यस प्रकारको सोंचलाई त्यागेर बहुसंख्यक दार्जीलिङवासीको मुद्दालाई अघि बढ़ाउन उक्त राजनैतिक दललाई सुझाउ दिदछौं।


हामी सिक्किमवासी दार्जीलिङवासीको दशकौंदेखिको अलग राज्यको मागलाई सधैं साथ र समर्थन जनाउँदछौं भने बेला-बेलामा दुलोबाट बाहिर निस्किएर यस्तो षड्यन्त्रकारी राजनैतिक क्रियाकलाप गर्ने तत्वहरूविरूद्ध डटेर उभिनेछौं भनेर पनि उनले थप बताए।

Post a Comment

Previous Post Next Post