८७ औं कटुवाल जयन्तीको उपलक्ष्यमा कवि, गायक तथा गीतकार प्रयात हरिभक्त कटुवाललाई स्मरण गर्दै उहाँको कविता 'यो जिन्दगी खै के जिन्दगी' अथवा 'आकाशका तारा के तारा' कुनै एउटा कविता भिडियो वाचन गरेर पठाउनुहोस्। उत्कृष्ट ५ वटा कविता प्रसारण गरिनेछ।
कविता-
यो जिन्दगी खै के जिन्दगी
यो जिन्दगी खै के जिन्दगी
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी!
बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी!
पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी!
यो जिन्दगी खै के जिन्दगी!!
आकाशका तारा के तारा
प्रिये!
आकाशमा चम्किने नौलाख तारा
दुईतारा ल्याई लुर्कना बनाई
तिम्रा बुच्चा कानहरुमा
भुन्डाइदिन सके कस्तो हुँदो हो!
तर प्रिये!
ती तारा टाढा आकाशमा रहनाले नै तारा छन्
हातले टिप्नसक्ने फलझैँ -
फल्दा हुन् त ती तारा पनि रुख-रुखमा
तारा नभई झटारा हुन्थे।
टाढा छन् - त्यसैले तिनको सम्मान छ
कवि-कलाकारको मुखमा
ताराको गुण-गान छ
उनीहरुकै तथ्य खोज्नमा
व्यस्त विज्ञान छ।
पृथ्वीका जीवले -
आकाशका ती तारालाई
मात्र देख्दछन् तारा
टाढा देख्ने ती आँखाले
देख्न सकेनन् वरि-परिका
पृथिवीका तारा -
चामे, रामे, हर्के, वीरे कति तारा
छन् पृथ्वीमै तर देख्ने कसले?
तारा भएरै पनि ती बिचारा!
गाँस-वासको डोहो-डोहोले
पिई आँसुका नुनिला धारा
गनी टाढाका तारा
कुकुर जस्तै हीन भएर
बिताइरहेछन् जीवन सारा!
आकाशका तारा के तारा!!
न उनमा छ आफ्नोपन क्यै
एक सूर्यको ज्योतिमा नै
ती ताराको अस्तित्व हराउँछ
तर ती तारा -
हर्के, वीरे, चामे सारा्
कसले चिन्ने यिनीहरुलाई?
चिन्न सके त -
एक हर्केमा, एक वीरेमा
एकेक सूर्यको शक्ति निहित छ
एक चामेको, एक रामेको
विवेक-ज्योतिले विश्व सिँगार्छ।
अन्धो पृथिवी - अन्धा हामी
हाम्रा लागि घरको दूध पानीसरि छ
नौलाख तारा टाढा हुनाले तारा छन्
रामे, चामे, हर्के, वीरे झटारा छन्।
भयो प्रिये!
आकाशका ती तारा ल्याई
लुर्कना किन लाउने ?
पृथ्वीका तारा सहयार्न किन नथाल्ने?
प्रिय, अझै अलिक दिन बुच्चै बसिद्यौ!
बुच्चा कानमा लुर्कना होइन
पृथिवीका रत्न बटुली
तिम्रो मनको कालो आकाशमा
ज्योति सजाउँला!
Post a Comment