आज असार महिनाको १५ गते अर्थात् दही चिउरा खाने दिन। 'असार पन्ध्र' गोर्खा लोक संस्कृति भित्र पर्ने एउटा विशुद्ध मौलिक चाड हो। यो कृषिजीवी गोर्खाहरुको महत्वपूर्ण पर्व हो। गोर्खा समाजमा प्रत्येक वर्षको असार महिनाको १५ गतेको दिन दही चिउरा खाएर मनाउने प्रचलन छ। वर्षदिन भरी खान पुग्ने अन्नको जोहो गर्नको निमित्त असार महिनाभरि कडा मेहनत र परिश्रमका साथ खेतिपातिको काममा खट्ने, जुट्ने र सोही महिनाको बिच भागमा पर्ने १५ गतेका दिन धान रोपाइँ गरी दही चिउरा खाने चलन गोर्खा समाजमा युगौं युगदेखि पारम्परिक रूपले चलिआएको छ। झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले आफ्नो शरीरलाई शीतलता र शक्ति दिनको लागि असार १५ गतेका दिन खेतमै विशेष रूपमा दही चिउरा लिने गर्दछन्। खेतिपातिमा सक्रिय भइ कडा परिश्रम गर्नु पर्ने असार महिनालाई मानो खाई मुरी उब्जाउने समय पनि भन्ने गरिन्छ।
असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाईंको पर्व असार १५ को मुख्य आकर्षण हो। यसो गर्नाले माटोप्रति माया जाग्छ, बाली सप्रिन्छ र खेती किसानी उत्तम कर्म हो भन्ने देखिन्छ। यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ।
शहरमा चिटिक्क परेर हिड्नेहरु पनि असार पन्ध्रका दिन हिलो खेल्न खेतमा पुग्छन्। उनीहरुले संकोच हटाई खेतमा किसानसँग मिलेर धान रोप्छन्, हिलो खेल्छन्। यस दिन आफन्तजन पनि धान रोप्न खेतमा भेला हुने चलन छ।
परापूर्वकालमा असार १५ गतेका दिन रोपाईंको क्रममा त्यसबेलाका तत्कालीन राजा रानीले पनि हिलो कुल्चिएर रोपाईं कार्यक्रममा संलग्न भएको र रोपाईं सकिएपछि किसानहरुसँगै बसेर दही चिउरा खाएको किम्बदन्तीसँग पनि असार महिनाको इतिहास जोडिएको छ।
विगत वर्षहरु झैं यस वर्ष पनि विश्वको विभिन्न मुलुकमा बसोबास गर्ने गोर्खा समूदायले खेतमा रोपाईं गरी दही चिउरा खाएर असार १५ मनाउँदै छन्। यता असमेली गोर्खाहरुले पनि आजको दिनलाई विशेष रूपमा मनाउँदै छन्।
सबैमा अषाढ पन्ध्रको शुभकामना।
Post a Comment