Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भाषा सङ्ग्रामी दिलकुमारी भण्डारीलाई 'भानु पुरस्कार २०२१' प्रदान गरिने

गान्तोक,२५ जुन: नेपाली साहित्य परिषद्, सिक्किमले २०२१ वर्षको 'भानु पुरस्कार' भाषा सङ्ग्रामी, जातिय सचेेतक तथा पूर्व सांसद दिलकुमारी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ।

जानकारी अनुसार, नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराउन अमूल्य योगदान दिने भाषा सङ्ग्रामी तथा साहित्य सेवी दिलकुमारी भण्डारीलाई यस वर्षको 'भानु पुरस्कार' प्रदान गरिनेछ।

नेपाली साहित्य परिषद्, सिक्किमले सन् १९८५ देखि नेपाली भाषा-साहित्यको दीर्घकालदेखि सेवा पुर्याउँदै आउने भाषा-साहित्यसेवीहरुलाई प्रत्येक वर्ष 'भानु जयन्ती'को अवसरमा भानु पुरस्कारले विभूषित गर्दै आइरहेको छ।

यस सन्दर्भमा प्रतिष्ठित 'भानु पुरस्कार'को महत्व र विशेषतालाई उच्चता प्रदान गर्दै नेपाली साहित्य परिषद्, सिक्किमले वर्ष २०१३ देखि नयाँ नियमावलीको आधारमा पुरस्कृत व्यक्ति चयन गर्दै आएको छ।

नेपाली साहित्य परिषद्, सिक्किमले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छ- 'वर्ष २०२१ को 'भानु पुरस्कार' प्रदान गर्नका लागि परिषदद्वारा दुई चरणमा गठित सूची समिति र अध्ययन समितिको चयन तथा सिफारिसको आधारमा नेपाली साहित्य परिषद्, सिक्किमले वर्ष २०२१ को 'भानु पुरस्कार' गान्तोक निवासी भाषा-साहित्यका वरिष्ठ सेवी तथा नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउन अमूल्य योगदान पुर्याउने भारतीय नेपाली भाषीहरुका आदर्श व्यक्तित्व श्रीमती दिलकुमारी भण्डारीलाई प्रदान गर्ने निर्णय लिएको छ।'

प्रेस विज्ञप्तिमा थप भनिएको छ- उक्त प्रतिष्ठित पुरस्कार आदिकविको २०७ औं जन्म जयन्ती समारोहको उपलक्ष्यमा आगामी १३ जुलाई २०२१ का दिन गान्तोकमा प्रदान गर्ने प्रबन्ध परिषद्ले मिलाइरहेको भए पनि राज्यमा कोभिड-१९ को अवस्था र यस सम्बन्धी सरकारको आचारसंहितालाई ध्यानमा राख्दै पुरस्कार अलङकरण समारोहको उचित मिति तय गरिनेछ।

पुरस्कारको रूपमा प्रशस्ति-पत्र, अङ्ग वस्र र ताम्र-पत्रसहित नगत राशि प्रदान गरिने जानकारी प्राप्त भएको छ।

Post a Comment

Previous Post Next Post