Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
न्युज डेस्क, २१ जुन: आज २१ जुन अर्थात् विश्व योग दिवस। आफ्नो शरीर निरोगी बनाइराख्न समग्र विश्ववासीले आजको दिनलाई विशेष रुपमा मनाउने गरेका छन्। आउनुहोस् जानौं विश्ववासीले कहिलेदेखि र किन मनाइआएका छन् विश्व योग दिवस।
योगश्चित्तवृत्तिनिरोधः ।।योगसूत्र ।।
अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो। योगको अर्थ जोड्नु हो। योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ। मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ। योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ। योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन्।
विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ। सन् २०१४ बाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ। योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ।
आउनुहोस् हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौं। पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ। योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए। जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ। मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ।
योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ। शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो। वास्तुकला अध्ययन अनुसार अादिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ। महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ।योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ। अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ। यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ।
आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ। आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग एकमात्र सरल र सहज उपाय हो। समयको पावन्दी भन्दा पर सम्म योगले चित्त पूर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौं। योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ। भगवान गाैतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु प्रशस्त पुस्तक र उदाहरणहरुले बयान गरेका छन्।
योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र ब्याख्या मार्फत् परीभाषित हुने कुरा पक्कै हैन, तथापी योगको महत्व आजको घम्साघम्सि सहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहनेछन् । अरबपतिदेखि साधू सन्तसम्म हामीसबैले छातीमा हात राखेर उत्तर दिन जरुरी छ; के हाम्रो जीवनमा शान्ति छ त ? हामी खुशी छौं त ?
मानव स्वभावले नै आत्मनियन्त्रण भन्दा पर, चञ्चले अनि भौतिक प्राप्तिकालागि लोभ, मोह तथा भोगमा लिप्त प्राणी हो, संसारमा मानव मात्र एउटा प्राणी हो जो खानैकालागि जीवनभर पैसा-पैसा गर्दै यता उता भाैतारींरहन्छ यो अन्य प्राणीमा लागू हुँदैन। तर जीवनको वास्तविक मुल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ती भन्दा कोशौं पर छ। यसो भन्दै गर्दा योग अपनाउन भौतीक संसारभन्दा पर बसेर साधू सन्त नै बन्नु पर्छ भन्ने हैन्, योगको अवलम्बवन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थमा समेत हामी सफल र निरोगी हुने पक्का छ। समतामूलक विश्वकालागि योग जरुरी छ, योग जीवन हो र यसका बारेमा थप अध्ययन गरौं, अपनाऔं र खुशी अनि शान्त जीवन प्राप्त गराैं।
अन्त्यमा विश्व योग दिवसको शुभकामना।
Post a Comment