Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

खरसाङ नगरपालिकाको अध्यक्ष पदमा बिग्रेन गुरुङ निर्वाचित

खरसाङ,१० जुन,२०२१: दार्जिलिङ जिल्ला अन्तर्गत खरसाङ नगरपालिकाको प्रेक्षागृहमा आज सम्पन्न भएको एउटा बैठकमा सर्वसम्मतिले ब्रिगेन गुरूङ खरसाङ नगरपालिकाको अध्यक्ष निर्वाचित भएका छन्। त्यसैगरी वार्ड नम्बर २० का पार्षद सुवास प्रधान खरसाङ नगरपालिकाको उपाध्यक्ष निर्वाचित भएका छन्। 

निर्वाचन पश्चात् खरसाङ नगरपालिकाको अध्यक्षको गरिमामय पदमा निर्वाचित गर्ने पार्षदहरु प्रति आभार प्रकट गर्दै नयाँ अध्यक्ष बिग्रेन गुरुङले भने "अध्यक्ष एक्लैले केही गर्न सक्दैन। म सबैबाट सकारात्मक सहयोगको अपेक्षा राख्दछु। ब्रिगेन गुरुङ मात्र अध्यक्ष होइन तर हामी सम्पूर्ण पार्षदहरु नै अध्यक्ष जस्तो भएर खरसाङ नगरपालिकाको निम्ति काम गर्नु सकौं। हामी एक जुट भएर काम गर्नु पर्छ।"

भावी कार्यक्रमहरुलाई ठोस दिशा तर्फ लैजान उनले सबैलाई अपिल गर्दै भने "अब रहेको एक वर्षमा जति पनि कामहरु थाती रहेको छ ती सबै पूरा गर्नेछौं। बिग्रेको कामलाई सपार्ने छौं।" आफ्नो भनाई क्रममा उनले अझ भने, "म कुनै जदुवाला होइन कि एउटा लठ्ठी घुमाउने बित्तिकै काम भई हाल्छ। म पनि मान्छे नै हुँ। भूल गर्नु मानव स्वभाव हो। तर सानो सानो भूललाई सुरुमा नै सम्हाल्नु सकिएन भने सम्भल्नु नसकिने भूल गर्न देखि बाचौं। ठूलो ठूलो भूलहरु देखि बाँचेर खरसाङ नगरपालिकालाई प्रगतिको पथमा लैजाउ।"

यता गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाले नवनिर्वाचित खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरूङ अनि उपाध्यक्ष सुबास प्रधानलाई बधाई दिदै भने "नगरपालिका यस्तो व्यवस्था हो जहाँबाट नगरपालिकाका वासिन्दाहरूको मूलभूत विकासका आधारहरू माथि कार्य हुन्छ। ब्रिगेन गुरुङको नेतृत्वमा अब खरसाङ नगरपालिकाले अझ राम्रो काम गर्नेछन् भन्ने मेरो विश्वास छ। नगरवासीले अब नगरपालिकाको असल कार्य देख्नेछन्।"

कूल २० जना पार्षदहरूले बनिएको खरसाङ नगरपालिकाका १ जना पार्षदको निधन भएको छ। आजको बैठकमा १९ जना पार्षद मध्ये १५ जना पार्षदको उपस्थिति रहेको थियो। निष्काशित अध्यक्ष कृष्ण लिम्बू अनि वार्ड नम्बर ९ का पार्षद शान्ति राई अनुपस्थित थिए भने दुईजना पार्षदलाई कोविड संक्रमण भएको कारण उपस्थित हुनु सकेनन्। यी दुवै पार्षदहरूले नवनिर्वाचित अध्यक्षलाई समर्थन जनाएका छन्।

बैठकमा डिष्ट्रिक्ट म्याजिस्ट्रेटलाई प्रतिनिधित्व गर्दै डेपुटी म्याजिस्ट्रेट कुन्तल बोस अनि राज्य सरकारलाई प्रतिनिधित्व गर्दै नगरपालिकाका एक्जिक्युटिभ अफिसर रामकृष्ण दत्त अनि फाइनान्स अफिसर सुनिल चन्द्र उपस्थित रहेको जानकारी प्राप्त भएको छ।

Post a Comment

Previous Post Next Post