सिक्किम,१० जुन,२०२१: सिक्किममा कोरोना सङ्क्रमणबिच नाम्चीमा जल्यो भाइचुङ भुटियाको पुतला।
अघिल्लो साता दक्षिण सिक्किमको नाम्चीस्थित फुटबल ग्राउन्डमा मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले ३०० बिछ्यौनाको अस्पतालको आधारशिला खडा गरेका थिए। त्यस पश्चात् पद्मश्री र अर्जुन पुरस्कार विजेता भारतका पूर्व फुटबल अधिनायक तथा हाम्रो सिक्किम पार्टीका संस्थापक भाइचुङ भुटियाले उक्त अस्पताल जोरथाङ्ग नजिकै काफ्रेटारमा बनाउने सरकारलाई सुझाउ दिएका थिए। भाइचुङ भुटियाको अनुसार नाम्चीमा एउटा मात्र फुटबल मैदान उपलब्ध छ बरु त्यस्को सट्टामा काफ्रेटारमा सिक्किम सरकारले क्यान्सर अस्पतालको लागि बेचिएको स्थानमा उपयुक्त हुने बताएका थिए। उनको अनुसार, यदि अस्पताल काफ्रेटारमा बनिए त्यसले पश्चिम अनि दक्षिण सिक्किमका वासिन्दालाई नै सजिलो हुन्थ्यो, त्यतिमात्र नभएर अस्पतालको लागि वर्तमानमा आवन्टन गरिएको ८० करोड कोभिड भ्याक्सिनको निम्ति सरकारले खर्च गर्न पर्ने पनि सुझाउ दिएका थिए।
भाइचुङ भुटियाको विज्ञप्ति पछि नै नाम्चीमा नारीहरुले उनको बिरोधमा पुतला दहन गरेका छन्। विरोध प्रदर्शनमा लगभग २० जना नारीहरुले हातमा प्लेकार्ड बोकेर सहभागिता जनाएका थिए। प्लेकार्डहरुमा सिक्किम सरकारले निर्माण गर्न गइरहेको सो अस्पतालको समर्थन र भाइचुङ भुटियाको बयानको बिरोधमा लेखिएको थियो।
भाइचुङ भुटियाको पुतला दहन गरिएको घटनामाथि हाम्रो सिक्किम पार्टीकी अध्यक्ष डा. बिना बस्नेतले प्रतिक्रिया व्यक्त गरेकी छिन्। उनले पद्मश्री र अर्जुन पुरस्कार विजेता अनि भारतका पूर्व फुटबल अधिनायक भाइचुङ भुटियाको पुतला जलाएको घटनालाई घोर भत्सर्ना गर्दै सिक्किमको इतिहासमा यस्तो घटना कहिल्यै नभएको बताउँदै सिक्किममा यस दिनलाई कालो दिवसको रुपमा देखेको बताएकी छिन्।
Post a Comment