Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज उभौली पर्व, किन र कसरी मनाइन्छ उभौली पर्व?


न्युज डेक्स, २६ मई,२०२१: आज उभौली पर्व। किन र कसरी मनाइन्छ उभौली पर्व? आउनुहोस् विश्व प्रसिद्ध किरात समुदायले मनाउने वसन्त ऋतुको उभौली पर्व बारे जानौं।

प्रकृतिका पुजारी किरात समुदायले बैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यन्नको कमी नहोस् भन्दै उभौली पर्व मनाउँछन्। चण्डी नाच गरिने भएकाले आजको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो। त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ।

             कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णत या कृषि र बालीको जनाऊ दिने गर्छन्। यी दुईवटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन्। बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ। उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।

             बालीनालीका रक्षक तत्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ। कोभिड-१९ को संक्रमण र निधेषाज्ञाका कारण पारम्परिक भेष–भूषामा सजिएका किराती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सगैँ नाचेकोे अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ।

           अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरूवाल, बुकी–फूल सिउरिने र गोर्खा टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले पनि कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेला गरगहनासहित सजिएर ना‍ँच्ने चलन छ। हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै "सोई ढोले सोई अर्को ढोले खोई" भन्दै नाँच्दा त माहौल नै अर्को हुन्छ।

            यसरी नाँच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचिन्छ। तर कोभिड-१९ को कारणले सार्वजनिक ठाउँहरुमा यसपालि यस्ता दृश्य देख्न सकिने अवस्था छैन।

संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना।

साभार: हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post