साहित्यकार गीता उपाध्यायलाई पद्मश्री सम्मान प्रदान
Nelive24: असमकी प्रख्यात लेखिका, साहित्यकार, अनुवादक, र उपन्यासकार गीता उपाध्यायलाई भारतको चौथो सर्वोच्च असामरिक सम्मान "पद्मश्री" द्वारा सम्मानित गरिएको छ। साहित्य र शिक्षा क्षेत्रमा उनको अतुलनीय योगदानका लागि यो सम्मान प्रदान गरिएको हो।
गीता उपाध्यायको जन्म १९३९ सालको फेब्रुअरी १४ मा असमको विश्वनाथ जिल्लाको गाङमौथान गाउँमा भएको हो। उनका पिता टङ्कनाथ उपाध्याय प्रसिद्ध साहित्यकार, नाटककार, र अनुवादक थिए। साथै, गीता उपाध्याय स्वतन्त्रता संग्राममा सक्रिय सहभागी र असममा भारतीय राष्ट्रिय कांग्रेसका एक प्रतिष्ठापक छविलाल उपाध्यायकी नातिनी हुन्। हाल उनी शोणितपुर जिल्लाको तेजपुरमा बसोबास गर्छिन्।
शैशवकालदेखि नै देशप्रेम र साहित्यबाट प्रेरित गीता उपाध्यायले नेपाली र असमिया भाषाबीच संस्कृतिको पुल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। उनले थुप्रै मौलिक कृति तथा अनुवाद ग्रन्थहरू सिर्जना गरेकी छिन्। "जन्मभूमि मेरो स्वदेश," "महापुरुष शंकरदेव जीवन र कर्म," र "मन्दाकिनी र अलकानन्दाको तीरतिर" उनका केही उल्लेखनीय कृतिहरू हुन्।
गीता उपाध्यायले २००९ मा "फुलचन्द खाण्डेलवाल सङ्गति पुरस्कार" र २०१६ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी छिन्। उनले "पद्मश्री" सम्मान प्राप्त गर्ने पहिलो असमेली गोर्खा महिला साहित्यकारको पहिचान बनाएकी छिन्।
विशेष उल्लेखनीय कुरा के हो भने, यो सम्मान भारतका राष्ट्रपतिबाट नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिन्छ, जुन सामान्यत: मार्च वा अप्रिल महिनामा आयोजना गरिन्छ।
यो सम्मान गीता उपाध्यायको व्यक्तित्व र योगदानको मात्र सम्मान नभएर असमेली महिला समाजको गौरव वृद्धि गर्ने विशेष क्षण पनि हो।
साहित्यकार गीता उपाध्यायका कृतिहरूको संक्षिप्त सूची:
मौलिक कृति (नेपाली):
"जन्मभूमि मेरो स्वदेश" (उपन्यास)
"महापुरुष शंकरदेव जीवन र कर्म" (जीवनी)
"कथाञ्जली" (कथा सङ्ग्रह)
मौलिक कृति (असमिया):
"सुवासित बताह" (कथा सङ्ग्रह)
"एकारञ्जली गल्प संग्रह" (सामूहिक कृति)
अनुवादित ग्रन्थहरू:
"दरबारकी सुसारे" (असमियाबाट नेपालीमा)
"मुनामदन" (नेपालीबाट असमियामा)
"भानुभक्तको रामायण" (नेपालीबाट असमियामा)
गीता उपाध्यायले असमेली गोर्खा समाज र महिला समाजको गौरव बढाउँदै भारतीय साहित्यिक जगत्मा महत्वपूर्ण योगदान पुर्याएकी छिन्।
Post a Comment