डिजिटल डेस्क, ३१ अगस्त: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा या रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षा बन्धन धारण गरेर मनाइँदै छ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।
यसै कारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र अर्थात् रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको थाहा लाग्छ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गर्छन्।
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नु पर्ने विधान शास्त्रमा उल्लेख छ। तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई 'श्रावणी स्नान' पनि भनिन्छ। स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। आजको दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई 'ऋषितर्पणी' पनि भन्ने गरिएको हो।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ।
अर्कातिर, आजको दिन दाजुबहिनी बिचको पवित्र सम्बन्धको प्रतीकको रूपमा पनि दिदी-बहिनीहरूले दाजुभाइहरूको हातमा रक्षासूत्र अर्थात् रक्षा बन्धन बाधीदिने चलन छ।
क्वाँटीको परम्पररा:
जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको 'क्वाँटी' खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता रहेको छ। विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमतासमेत वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूले बताएको पाइन्छ।
अन्त्यमा, बाधेको धागो चुडिए पनि सम्बन्ध कहिल्यै नचुडियोस्, सबैमा शुभकामना!
Post a Comment