आज भारतभरिका गोर्खाहरूले ३२ औं नेपाली या गोर्खाली भाषा मान्यता दिवस मनाएका छन्।
आजकै दिन अर्थात् अं सन् १९९२ को २० अगस्तको दिन भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली या गोर्खाली भाषाले मान्यता पाएको थियो।
अं सन् १९५६ देखि भारतभरि नेपाली भाषा आन्दोलनको आगो दन्किएको थियो भने भाषा आन्दोलनको आगो अं सन् १९९२ को २० अगस्तको दिन निभ्यो।
भारतमा नेपाली भाषा मान्यता आन्दोलनमा पूर्वोत्तर राज्य असम तथा भारतको हरेक प्रान्तमा छरिएर बसोबास गर्ने नेपाली या गोर्खाली भाषीहरूले सक्रिय रूपमा भाग लिएका थिए भने आफ्नो नेपाली मातृभाषालाई भारतको संवैधानिक स्वीकृतिको मागमा लामो समयसम्म हजारौं गोर्खाहरू आन्दोलनमा उत्रिएका थिए।
अन्त्यमा अं सन् १९९२ को २० अगस्तको दिन नेपाली या गोर्खाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता पायो। तसैले सन् १९९२ को २० अगस्तको दिन समस्त गोर्खाहरुको लागि ऐतिहासिक र स्मरणीय दिन हो।
उल्लेख छ, नेपाली या गोर्खाली भाषालाई मान्यता दिलाउनमा सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र उहाँकी धर्मपत्नी श्रीमती दिल कुमारी भण्डारीको योगदान महत्त्वपूर्ण रहेको थियो।
Post a Comment