Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गाउँघरमा लोप हुँदै दशैं-तिहारमा पिङ खेल्ने परम्परा

नेपाली भाषीहरुको महान चाड बडा दशैं सबैको घर आँगनीमा आइसकेको छ। गत् सोमबार घटस्थापनासँगै यस वर्षको दशैं शुरु भएको छ। 

गोर्खा समाजमा दशैंको महत्व जे जस्तो रहेपनि यस चाडसँग जोडिएको अर्को एउटा महत्वपूर्ण र रमाइलो पक्ष भनेको 'पिङ' पनि हो। दशैंको हर्षोउल्लास र खुशीयालीमा छुट्टै रौनक थप्ने गर्छ 'पिङ'ले। गोर्खा समाजमा दुई प्रकारका पिङको चलन छ- 'लिङ्गे पिङ' अनि 'रोटे पिङ'।

गोर्खाहरुले दशैंको टिकाको दिन आफूभन्दा ठूलाबडाबाट टिका र आशिर्वाद ग्रहण गरेपछि एकपटक भनेपनि लिङ्गे पिङ खेलेर जमिन छाड्नु पर्ने पुरानो चलन पनि गोर्खा समाजमा अझै कायमै रहेको छ। तर गोर्खाहरुको संस्कृति बोकेको पिङ आजभोलि गाउँघरमै हराउने अवस्थामा पुगेको छ।  गाउँघरमा लिङ्गे पिङसँगै हराउन थाल्यो दशैंको रमाइलो पनि।

दशैंमा पिङ खेल्नै पर्ने परम्परा कहिले, काहाँ अनि कसरी शुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैं मनाइयो, पिङ खेल्ने चलन पनि उही बेलादेखि शुरु भएको मान्न सकिन्छ। दशैंको शुरुवातदेखि रमाइलो तिहारसम्मै गाउँघरमा थापिने पिङ निर्माण गर्ने अनि खेल्ने रमाइलो गर्ने रहर भने अहिलेको पुस्तामा कम्ती देखिन्छ। यद्यपि असमको विभिन्न गाउँहरुमा कता कता वर्तमान समयमा पनि युवाहरु मिलेर पिङ थापेको नदेखिएको होइन।

पहिले दशैंको आगमनको एक साता अघिनै गाउँघरमा लिङ्गे पिङका लागि लिङ्गा खोज्ने, बासँ काट्ने, लठ्ठा बाट्ने चटारो हुन्थ्यो र गाउँघरका चोक, चौर, चौतारामा पिङ राख्ने चहलपहलसँगै टोल छरछिमेकहरु भेला हुने अनि पिङ खेल्ने उत्साह हुन्थ्यो तर अचेल आफ्नै गाउँघरबाट पिङ हराउने अवस्थामा पुगेको छ।

अचेल दशैं आउँदा पनि बाटिदैन लठारो, गाडिदैनन् बाँसका खम्बाहरू, पिङ राख्ने चौरहरु पनि सुनसान देखिन्छ, लिङ्गो कटाउँदा गुञ्जिने 'चापाचुइया' शब्दहरु पनि गुञ्जिदैन अचेल। माहोलनै मौन छ। समयले दशैंलाई पनि आफुसँगै फेरि दिएको छ। त्यसैले अहिलेका पुस्तालाई रोटे र लिङ पिङको महत्व मात्रै होइन, आकार र स्वरुपको बारेमा पनि कम्तीनै थाहा होला।

वर्तमान समयमा प्रविधिको विकाश भएसँगै मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि यस्ता पिङ तर्फ युवा पुस्ताको आकर्षण घटेको हुन सक्छ। अर्कोतर्फ, बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभावले पनि दशैंमा पिङ खेल्ने संस्कृति मासिदै गएको होला। यता, गाउँघरमा युवा जनशक्तिको अभाव र आ-आफ्नो पेशामा व्यस्तताको कारणले पनि पिङ राख्ने चलनमा कमी आएको हुन सक्छ। किनकी गाउँघरका युवाहरु रोजगारीको खोजीमा शहर पस्न थाले, कोही परदेश अथवा विदेश लागे जस्ले गर्दा गाउँघर रित्तो जस्तो बन्ने गर्छ।

जे नहोस्, तर गोर्खाहरुको महान चाड बडा दशैंको खुशीयालीमा छुट्टै रौनक थप्ने पिङ खेल्न हामीले छाड्नु हुदैन। हामीले हाम्रा विभिन्न चाडपर्वसँग जोडिएका परम्परा अनि संस्कृतिको मौलिकता गुम्न नदिइकन पर्वसँग जोडिएको परम्परागत कार्यको समेत जगेर्ना गर्दै जानु पर्छ।

सबैको शान्ति, समृद्धि र प्रगतिको कामनासहित बडा दशैंको मङ्गलमय शुभकामना।

Post a Comment

Previous Post Next Post