Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
उल्लेखनीय छ कि पूर्वोत्तरका विश्वविद्यालयमा नियमित स्वरूपमा सञ्चालित हुने यो आफ्नो प्रकारको एकमात्र स्नातकोत्तर डिप्लोमा पाठ्यक्रम हो। कटन विश्वविद्यालयको भाषा, संस्कृति र कला विषयक केन्द्र (सेन्टर फर ल्याङ्ग्वेज, कल्चर एन्ड आर्ट) को मातहतमा सञ्चालन हुने यो पहिलो स्नातकोत्तर डिप्लोमा पाठ्यक्रम हो। यस केन्द्रका प्रमुख प्राध्यापक महेश्वर कलिताका अनुसार निकट भविष्यमा केन्द्रले अन्य भाषाहरूमा पनि यसखाले पाठ्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
बिहीवारदेखि सुरु हुनगइरहेको यस पाठ्यक्रमको पाठदानमा नेपाली दैनिक समाचारपत्र "हाम्रो प्रजाशक्ति' का वरिष्ठ पत्रकार ढाकाराम काफ्लेलाई अतिथि प्राध्यापकका रूपमा नियुक्त गरिएको छ भने गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा भाषा अध्ययन विभागका प्राध्यापक डा. खगेन शर्मालाई यस समग्र पाठ्यक्रमको हेरदेख र सञ्चालनको विशेष जिम्मेवारी दिइएको छ।
कटन विश्वविद्यालयमा नेपाली भाषाको यो पाठ्यक्रम खुलाउनमा प्रमुख भूमिका खेल्ने डा. खगेन शर्माका अनुसार यो एकबर्से पाठ्यक्रम कुल दुईवटा सेमेस्टरमा विभक्त छ र यसमा 32 क्रेडिट प्वइन्ट छन्। यो पाठ्यक्रम पढेपछि पाइने प्रमाणपत्रले विभिन्न स्तरमा नेपाली शिक्षणमा काम दिने कुरा पनि उनले बताए। डा0 शर्माले पनि यस पाठ्यक्रममा विद्यार्थीहरूको चासो रहेमा र धेरैभन्दा धेरै विद्यार्थीले यसमा एडमिसन लिएर पढेमा नेपाली भाषा शिक्षणको भविष्यमा राम्रो प्रभाव पर्ने आशा व्यक्त गरे। उल्लेखनीय छ कि अहिलेसम्म यस पाठ्यक्रममा 12 जना विद्यार्थीले भर्ना भएर अध्ययन गर्ने भएका छन्। यसमा भर्ना हुन चाहने विद्यार्थीले अझै पनि दुई सप्ताहभित्र विश्वविद्यालयमा सम्पर्क गर्नसक्ने छन् भनी डा. खगेन शर्माले बताएका छन्। यस पाठ्यक्रममा भर्ना हुने विद्यार्थीका लागि होस्टलको सुविधा पनि उपलब्ध रहेको कुरा जानकारीमा आएको छ।
उल्लेखनीय छ कि सन् 2017 मै असम नेपाली साहित्य सभाले कटन विश्वविद्यालयमा नेपाली भाषा-संस्कृतिविषयक एक केन्द्र खोल्न भनी विश्वविद्यालय र सरकारसमक्ष माग राखेको थियो। त्यसपछि सरकारका विभिन्न विभागीय निकाय र मुख्यमन्त्रीसमक्ष पनि यो कुरा पटक पटक दोहोऱ्याइएको थियो र यस कार्यमा अनेसासका तर्फबाट शिक्षा सचिव डा. खगेन शर्माको निरन्तर प्रयास जारी थियो। यस कार्यमा बडसोलाका विधायक गणेशकुमार लिम्बूको पनि विशेष सहयोग रहेको थियो। त्यसै प्रयासको फलस्वरूप आज यो सम्भव भएको भन्ने कुरा पनि थाहा लागेको छ।
कट्न विश्वविद्यालय जस्तो प्रतिष्ठित शिक्षण संस्थानमा नेपाली भाषाले प्रवेश पाएकोमा खुसी जाहेर गर्दै भारतिय गोर्खा युवा परिसङ्घका महासचिव रमेश बास्तोलाले भनेका छन् कि असमका विभिन्न विश्वविद्यालयमा नेपाली मातृभाषाको विभाग खोलिनुपर्ने प्रशस्त कारण र खाँचो छ र हामीले सरकारसित पहिला पनि यस सन्दर्भमा माग राखिआएका छौं। उनले भने अहिले कटन विश्वविद्यालयमा यसरी नेपाली भाषाको स्नातकोत्तर डिप्लोमा पाठ्यक्रम खोलिनाले असमका गोर्खा जातीय सङ्गठनहरूलगायत सर्वसाधारण नेपालीभाषी गोर्खाहरू विश्वविद्यालय र सरकारप्रति विशेष रूपमा आभारी छन्।
Post a Comment