सरस्वती पुजा | श्रीपञ्चमी | वसन्त पञ्चमी
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी वा वसन्त पञ्चमी। आजको दिनलाई सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन हो। आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहीआएको छ। यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको शुरुवात हुने गर्छ।
आज विद्यालय र विद्यार्थीहरुको लागि त विशेष दिन हो। आज समग्र भारत लगायत असमका प्रत्येक शिक्षा संस्थानमा विद्याकी देवी सरस्वतीको विशेष रुपमा पूजा–आजा गर्नुको साथ रमाइलो चहलपहल हुने गर्छ।
आज विशेषगरी विद्यार्थीहरुले बिहानै उठेर प्रातः स्नान पश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर निराहार व्रत बसेर विद्याकी देवी सरस्वतीको पुजा अर्चना गर्ने गर्दछन्।
विद्यार्थीहरुका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोशाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो। आज रंगीन पोशाकमा विद्यार्थीहरुको लर्को धेरै विद्यालय परिसरमा देख्न सकिन्छ। तर कोभिडका कारणले यस वर्षको सरस्वती पूजाको रौनकमा केही कमी भने आउन सक्ने देखिन्छ।
अर्कोतर्फ, आजको दिन सर्जकहरुको दिन हो। आज सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ। सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, व्याख्याहरुको पर्दापण भइरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन्। जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सँधै दूर होस् ।
सबैमा सरस्वती पुजाको मंगलमय शुभकामना।
Post a Comment