गोर्खाहरुको भाइटिका /भातृ द्वितीया
नेपाली भाषी गोर्खाहरुले रमाइलो तिहार अथवा यमपञ्चकको पाँचौ दिन भाइटिका/भातृ द्वितीयाको रूपमा मनाउने गर्दछन्। कात्तिक कृष्ण त्रयोदशी तिथिको दिनदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्म क्रमशः काग, कुकुर, गाई र गोरुको पुजाअर्चना गरेपछि पाँचौ दिन गोर्खा दिदीबहिनीहरुले दाजुभाइलाई विशेष रूपमा पुजा गर्ने चलन छ। जस्लाई 'भाइटिका' अथवा 'भातृ द्वितीया' भनिन्छ।
भाइटिकाको दिन सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित दिदी बहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।
गोर्खा दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ। यसरी निम्तो पाएका दाजुभाइहरु आज दिदीवहिनीसँग टिका लगाउँदछन्। टिका लगाउनु पूर्व दिदी बहिनीले दाजुभाइलाई विशेष पूजा गर्नका लागि भूँर्इमा चकटि अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ। त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन्। यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ। कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजु भाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ।
शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टि लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन्। सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदी बहिनीको पाउमा राखेर ढोग्दछन्।
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ- एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजुलाई लिन आईपुग्दछ। यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ। ती चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन्। यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ती रहेको छ।
आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदी बहिनी नभएकाहरुले कसैलाई दिदी बहिनी मानेर या मठ मन्दिरमा अनि सामूहिक भाइटिकामा जाने पनि चलन छ।
अाजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदी बहिनीको आज भेटघाट हुँदैछ। आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ। नेपाल, भारत, भुटान, म्यानमार, थाइल्याण्डको साथै विश्वका विभिन्न मुलुकहरुमा समेत यस चाँडको आ-आफ्नै तरिकाले मनाउने चलन छ। असममा पनि भाइटिकाको दिन असमेली गोर्खाहरुलाई सम्मान गर्दै सरकारी बिदाको रूपमा घोषणा गरिएको छ।
भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाइलो हुन्छ। यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदैछ। दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदार्इले साह्रै नरमाईलो पनि हुन्छ। पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिनथाल्दछ। हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ।
काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेका आर्शिवाद हामीलाई लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस् अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस्। शुभकामना।
साभार- हाम्रो पात्रो।
Post a Comment