Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भाइचुङ स्टेडियम उद्घाटन; स्टेडियम रहुन्जेल भाइचुङ भुटियाको नाम अमर रहनेछ - गोले

सिक्किम,३१ अक्टोबर: आइतबार भारतको पहिलो गृहमन्त्री सरदार बल्लभभाई पटेलको १५६ औं जन्म जयन्तीका अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले दक्षिण सिक्किमको नाम्चीमा नवनिर्मित भाइचुङ स्टुडियमको विधिवत उद्घाटन गरे। सरदार बल्लभभाई पटेलको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भाइचुङ स्टुडियमको उद्घाटन सिक्किमका मुख्यमन्त्री पीएस गोलेको उपस्थितिमा राज्यपाल गंगा प्रसादले गरेका हुन्।

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले भाइचुङ स्टुडियम नाम्चीको लागि मात्र नभएर सिक्किम कै लागि आदर्श स्टुडियम हो भनी बताए। उनले यस स्टुडियम निर्माण गर्न सफल बनेकोमा सिक्किम सरकार र जनतालाई बधाई दिए। 

यता, सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पीएस गोलेले नवनिर्मित भाइचुङ स्टुडियमको उद्घाटन भएकोमा हर्ष व्यक्त गर्दै जबसम्म भाइचुङ स्टुडियम रहनेछ तबसम्म पूर्व फुटबल कप्तान भाइचुङ भोटियाको नाम अमर रहने बताए। राष्ट्रिय एकता दिवसको अवसरमा वृहत कार्यक्रम आयोजना गरेर भाइचुङ स्टुडियमको उद्घाटन गर्न पाउनु गौरवपूर्ण विषय हो भन्दै भाइचुङको जन्मथलो सिक्किमले उनलाई दिएको यो स्टुडियम एउटा विशिष्ट उपहार रहेको मुख्यमन्त्रीले बताए। खेललाई प्रतिस्पर्धाको रूपमा मात्र होइन एकताको रूपमा लिइनुपर्ने उल्लेख्य गर्दै यस स्टुडियमको उद्घाटनले सिक्किमे समाजमा एकता र भाइचाराको सन्देश फैलिनेछ भन्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे। भाइचुङ भोटिया कै उपस्थितिमा उद्घाटन समारोह सम्पन्न हुनु सबैको निम्ति अहोभाग्य हो भन्दै मुख्यमन्त्रीले भाइचुङ भोटियालाई आन्तरिक हृदयबाट बधाई पनि दिए। 

पूर्व सरकारले स्टुडियम निर्माण कार्यलाई हरसम्भव ढिलाई गरेका कारण खेलाडीहरुमा भएको असुविधाप्रति खेद व्यक्त गर्दै मुख्यमन्त्रीले कोभिडको वैश्विक महामारीको चपेटामा परेर पनि वर्तमान सरकारले डेढ वर्षको अन्तरालमा स्टुडियम निर्माण गर्न सकेको दावी गर्दै मुख्यमन्त्रीले यो सरकारको ठूलो उपलब्धि हो भने। कार्यक्रममा सहभागी बनेर स्टुडियमको उद्घाटन सम्पन्न गराइदिएकोमा मुख्यमन्त्रीले राज्यपालप्रति आभार व्यक्त गरे। मुख्यमन्त्रीले राष्ट्रिय एकता दिवसको औचित्यमाथि पनि प्रकाश पारे। 

उल्लेख छ, वर्ष २०१२ देखि निर्माण कार्य शुरु भएको नाम्चीको भाइचुङ स्टेडियमको निर्माण २०१५-मा पूरा हुनुपर्ने थियो। तर, ठेकेदार अनि राज्य सरकारको अनबनका कारण यस खेल मैदानले पूर्णता पाउन पूरा एक दसक लाग्यो। राज्यको दोस्रो फूटबल स्टेडियमका रूपमा निर्माण भएको भाइचुङ स्टेडियमको कूल दर्शक क्षमता लगभग दस हजार रहेको छ। यस स्टोडियमको खेल क्षेत्र एक सय पाँच मिटर लम्बाई र ६८ मिटर चौडाईको रहेको छ भने स्टेडियम भित्र रहेको कुल मैदानको क्षेत्र १ सय १५ मिटर लम्बाई र ७८ मिटर चौडाईको रहेको छ। मैदानमा टाइगर ट्रफ लगाइएको छ जसलाई फिफाले मान्यता दिइसकेको छ। यो ट्रफ इटियस कम्पनीले मैदानमा लगाएको हो। यसको शुरुवाती लागत ३२ करोड़ रुपियाँ निर्धारित गरिएको थियो भने निर्माण कार्य पूरा हुँदा ६० करोड़ लगानी भएको बताइएको छ।

उक्त कार्यक्रममा राज्यपाल प्रसाद मुख्य अथितिको रूपमा थिए भने विशिष्ट अथिति मुख्यमन्त्री पीएस गोले रहेका थिए। यस अतिरिक्त स्टुडियम उद्घाटन कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री परिषदका सदस्यगण, सिक्किम विधानसभाका सदस्यगण, लोकसभा सांसद, मुख्यमन्त्रीका राजनीतिक सचिव, विभिन्न विभाग, बोर्ड र निकायका सल्लाहकार र अध्यक्ष, राज्यका शीर्ष अधिकारीगण, भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भोटिया, नागरिक समाजका प्रतिनिधि, भूतपूर्व सैनिक र आमजनताको बाक्लो उपस्थिति रहेको थियोे।

स्रोत: हिमदर्पण

Post a Comment

Previous Post Next Post