Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कुशे औंसी | बुबाको मुख हेर्ने दिन |

कुशेऔँसी
आज कुशे औंसी। भाद्र कृष्ण औंसीका दिनमा मनाइने कुशेऔंसी पर्वमा घरघरमा पवित्र कुश भित्र्याइन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षभरि घर घरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन्। ब्राह्मणहरूले शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन्। कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजाआजा गर्ने गर्छन्। कुशको पूजाआजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसी मध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो।

बुवाको मुख हेर्ने दिन
कुशे औँसीलाई 'बुबाको मुख हेर्ने औँसी' पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो। गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो।
संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ। बिहान उदाएका सूर्य अस्ताउने रीत छ। यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ। चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुबाको हात समातेर तोती बोली बोल्दै लरबरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं। त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने व्यक्ति हुन् बुबा। सायद, शब्दले व्याख्या गर्न सकिन्न। तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला! जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान हुन्।

‘यी छोराछोरी बढ्लान्। कमाई गर्लान् र दूधभात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन्। सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्विर हेरेर अथवा पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन्।

हरेक धर्ममा आ–आफ्नै चलन छ, तर चलन जेसुकै भएपनि बुबाप्रतिको आदर, सत्कार र सामीप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ। तर बढ्दो आधुनिकतासँगै बुबा आमाहरूलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को–फर्को मान्ने चलन बढेर गइरहेका छन्। अनि बुबालाई हेला गर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन। हामी पनि एकदिन बुबा या आमा हुन्छौँ। तसर्थ, हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततिबाट पछि प्राप्त गर्दछौं। आउँदा पुस्तामा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पूरा गर्नुपर्ने महत्व र आवश्यकता झन् बढ्दै गएको छ।

बुबाको माया गर्न धर्मले पक्कै बाँधेको छैन। समयले छेकेको छैन। अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन। हिउँको कठ्यांग्रिदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा–हुरी बतासमा हुनुहुन्छ, मरुभूमिको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या   संसारको जुनसुकै कुनामा भएपनि जन्म दिने बुबालाई एकफेर खुशीसाथ स्मरण गरौँ। उहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर बाल्यकालका यादहरू सम्झेर मुस्काऔँ न, हुँदैन ।
सबैमा कुशे औंसी र बुबाको मुख हेर्ने दिनको शुभकामना।

साभार: हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post