दार्जिलिङ,०९ जुलाई: पश्चिम बङ्गालका राज्यपाल जगदीप धनकडले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको कामकाजको सम्पूर्ण विवरण मागेका छन्।
जिटिए ऐन २०११-को खण्ड ५५ (१०)-ले राज्यपाललाई जिटिए कामकाजको विवरण लिने अनि त्यसलाई हरेक साल विधानसभामा पेस गर्न सक्ने अधिकार दिएको छ। यही अधिकार प्रयोग गर्दै राज्यपाल धनकडले जिटिएलाई आफ्नो कामकाजको विवरण मागेका छन्।
राज्यपाल जगदीप धनकडको आदेश अनुसार अतिरिक्त मुख्य सचिवले यस मामिलामा जिटिएका अध्यक्ष सुरेन्द्र गुप्तालाई पत्राचार गरिसकेका छन्।
राज्यपालले निम्नलिखित विषयहरुमा विवरण गरेका हुन-
१) जिटिए कोषको वर्तमान स्थिति अनि सन् २०११ मा जिटिए सञ्चालनमा आएदेखि केन्द्र र राज्य सरकारबाट हरेक साल आएको रकमको विवरण मागेका छन्।
२) सन् २०११- २०१२ देखि हरेक साल जिटिएले गरेको वार्षिक लेखा अनि अडिटको निम्ति गरेको तयारीको विवरण मागेका छन्।
३) राज्य सरकारबाट जिटिएले प्राप्त गरेको सबै सूचनाहरुको प्रतिलिपि अनि जिटिएले दिएको जवाफ प्रस्तुत गर्न राज्यपाल धनकडले आदेश जारी गरेका छन्।
४) एकाउन्टेन्ट जनरल अनि क्यागबाट जिटिएले प्राप्त गरेको सबै सूचना अनि जिटिएले पठाएको जवाफको प्रतिलिपि राज्यपाललाई बुझाउन आदेश जारी गरिएको छ।
५) वर्तमानसम्म जिटिए अध्यक्षको पदमा रहेका व्यक्तिहरुको कार्यकाल उल्लेख गर्दै क्रमबद्ध सूची पनि जिटिएलाई बुझाउन आदेश जारी गरेका छन्।
उल्लेखित सबै बिषयहरुमा जिटिएका प्रशासक साथै जिटिएका प्रमुख सचिवलाई एक साताभित्र सबै जानकारीको साथमा राज्यपाललाई विवरण बुझाउन पनि निर्देश जारी गरिएको छ।
उल्लेखनीय छ, केही दिन अघि दार्जिलिङ भ्रमणमा आएका राज्यपाल जगदीप धनकडले जिटिएमा व्यापक भ्रष्टाचार भएको अनि आफ्नो अधिकार प्रयोग गरेर चाँडै जिटिएमा क्यागको विशेष अडिट गराउने बताएका थिए।
Post a Comment