Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

वरिष्ठ साहित्यिक, पत्रकार होमेन बरगोहाई अब रहेनन्


गुवाहाटी: १२ मई,२०२१:  एउटा दुखद समाचार। असमका वरिष्ठ साहित्यकार, कवि, समालोचक तथा वरिष्ठ पत्रकार होमेन बरगोहाई अब रहेनन्। आज बिहान ६:५८ बजे गुवाहाटीको GNRC अस्पतालमा उनले अन्तिम श्वास लिए। असमको ढकुवाखानामा १९३२ सनको ७ डिसेम्बरको दिन जन्मिएका होमेन बरगोहाईको ८९ वर्ष उमेरमा निधन भएको हो। असमका वरिष्ठ साहित्यकार होमेन बरगोहाई केही दिन अघि कोभिड-१९ मा आक्रान्त भएका थिए भने कोभिड-१९ लाई परास्त गर्दै निको भएका थिए। तर अचानक आज बिहान ३ बजे बिछौनाबाट ढले पछि उनलाई तत्काल उपचारको लागि गुवाहाटीको GNRC अस्पतालमा भर्ना गरिएको थियो। अन्त्यमा बिहान गुवाहाटीको GNRC अस्पतालमा अन्तिम श्वास लिए।

         उल्लेखनीय छ, वरिष्ठ साहित्यकार होमेन बरगोहाई असम साहित्य सभाका सभापति पनि थिए। उनले सन १९७८ मा "पिता पुत्र" नामक उपन्यासका लागि साहित्य अकाडेमी पुरस्कार पाउन सफल भएका थिए। उनले आफ्ना धेरै कालजयी कृती प्रकाशित गरेर असमीया साहित्यको ढुकुटी भर्ने काम गरेका थिए। वरिष्ठ पत्रकार होमेन बरगोहाईले असमका विभिन्न पत्र-पत्रिकाको सम्पादना पनि गरेका थिए। उनी मृत्युको बेला 'नियमीया वार्ता' नामक असमको लोकप्रिय अखबारको प्रमुख सम्पादकको दायित्वमा पनि थिए।

           वरिष्ठ साहित्यकार, कवि, समालोचक, पत्रकार तथा बुद्धिजीवी होमेन बरगोहाईको मृत्युमा असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा, पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल लगायत धेरैजना विशिष्ट व्यक्तिहरुले गभीर शोक प्रकट गरेका छन् भने उनको वियोगमा समग्र असम शोकाकुल भएको छ।

Post a Comment

Previous Post Next Post