Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
न्युज डेस्क, १२ मई, २०२१: निर्भीक स्वतन्त्रता संग्रामी बाबु छबिलाल उपाध्यायको आज १३९ औं जन्मजयन्ती। तर साम्राज्यवादी अंग्रेजहरूको कब्जाबाट मातृभूमि भारतको मुक्तिको निम्ति अंग्रेजहरुको विरुद्ध लडाईं गर्ने गोर्खा सन्तान बाबु छबिलाल उपाध्यायको बारेमा हामीलाई कतिसम्म थाहा छ? हो, आज उनको पवित्र जन्मजयन्तीको घडीमा उनलाई श्रद्धासुमन अर्पण गर्दै उनको बारेमा नजानेका केही कुराहरु पाठक सामु पस्कने कोशिस गरेका छौं।
अंग्रेजहरुको कब्जाबाट भारतको मुक्तिको लागि लामो समय अंग्रेजहरू विरुद्ध चलेको आन्दोलनहरुमा सक्रिय रूपले सहभागी भएर धेरै गोर्खा सन्तानले अंग्रेजहरूको अत्याचार सहेर कारावास खट्नु परेको थियो भने धेरै गोर्खा सन्तानले आन्दोलनमा उत्रिएर आफ्नो प्राण समेत गुमाउनु परेको थियो। अंग्रेज विरुद्ध चलेको आन्दोलनमा सक्रिय रूपले सहभागी भएर आन्दोलनमा उत्रिने त्यस्तै एकजना गोर्खा सन्तान थिए छबिलाल उपाध्याय। निर्भीक स्वतन्त्रता संग्रामी तथा एकजना समाज सेवी भनि चिनिने बाबु छबिलाल उपाध्यायको जन्म भएको थियो अं १८८२ सनको १२ मईको दिन असमको वर्तमान विश्वनाथ जिल्ला अन्तर्गत बुढीगाङमा। उनको पिताको नाम काशीनाथ उपाध्याय (घिमिरे) र माताको नाम थियो विष्णु माया देवी। त्यसबेला शिक्षाको प्रसार कम्ती भएको हुनाले छबिलाल उपाध्यायले माध्यमिक पर्याय मै शैक्षिक जीवनको समाप्त गर्नु परेको थियो।
गान्धीवादी आदर्शले अनुप्राणित छबिलाल उपाध्यायले त्यसबेला समग्र भारतमा दन्किरहेको विदेशी सामग्री वर्जन कार्यसूची, असहयोग आन्दोलन, भारत त्याग आन्दोलन र आइन अमान्य आन्दोलनमा अंग्रेज विरुद्ध सक्रिय रूपले सहभागी भएर आन्दोलन गरेका थिए। १९२१ सनमा महात्मा गान्धीको आव्हानमा असममा पनि असहयोग आन्दोलनले भयङ्कर रूप लिएको थियो। त्यस आन्दोलनमा प्रयात उपाध्यायले भोलेन्टियर भर्ना गर्ने काममा सक्रिय भएर काम गर्दा अंग्रेज सरकारले पक्राउ गर्छ र उनले ६ महिना कारावास खट्नु परेको थियो।
१९२१ सनको १८ अप्रिलमा जोरहाट शहरको विष्णुराम बरूवा हलमा सम्पन्न भएको असमको त्यस समयको एकमात्र सामाजिक तथा राजनैतिक संस्था आसाम एसोसिएसनको अन्तिम अधिवेशनमा बाबु छबिलाल उपाध्यायले सम्माननीय सभापतिको आसन ग्रहण गरेका थिए। उनले सभापतित्व गरेको सभाले नै आसाम एसोसिएसनलाई विलोप गरेर 'असम प्रदेश कांग्रेस कमिटी' गठन गर्ने ऐतिहासिक सिद्धान्त ग्रहण गरेको थियो। अर्थात् असममा कांग्रेस जन्माउने सभाका सभापति थिए गोर्खा सन्तान छबिलाल उपाध्याय। त्यही समयमा आसाम एसोसिएसनका तीनजना कार्यकर्तालाई जागीरोडमा गिरफ्तार गर्दा उपाध्याय र साथमा अमिय कुमार दास, कर्मवीर नवीन चन्द्र बरदलै र चन्द्रनाथ शर्मा नगाउँमा जानु पर्ने हुन्छ।
स्वाधीनता आन्दोलनको समयमा महात्मा गान्धी उषा नगरी तेजपुर आउनु भन्दा पहिले अंग्रेज विरुद्ध कार्य गरेको देखेर अंग्रेजले बाबु छबिलाल उपाध्यायलाई कांग्रेस छोडन भन्छन् तर उनले कांग्रेस नछोडेर महात्मा गान्धीको सभामा सक्रिय भूमिका निभाएकोले उनलाई अंग्रेज सरकारले गिराफ्तार गर्छ।
त्यस पश्चात १९४२ सनको भारत त्याग आन्दोलनमा पनि संलग्न भएको कारणले अरू आन्दोलनकारी संगै छबिलाल उपाध्यायले पनि फेरि केही दिन जेल खट्नु परेको थियो।
अंग्रेज सरकारको पुलिस कमिसनर जस्ता उच्च पदाधिकारीले दुई दुई पल्ट "कांग्रेस छोड तिमीलाई जे चाहिन्छ त्यही दिनेछौं" भनेर फकाउँदा पनि छबिलाल उपाध्यायले टेरेनन् र प्रत्युत्तरमा भने- " मेरो जन्म असममा हो, असमको आन्दोलन मेरो आन्दोलन हो।" त्यसपछि "तिमी नेपाली मान्छे नेपालका नागरिक हौ" भनेर देश निकालाको नोटिस प्रदान गर्दा पनि छबिलाल उपाध्यायले देश र समाजको हितमा काम गरेको देख्न पाइन्छ।
बाबु छबिलाल उपाध्यायले शैक्षिक क्षेत्रमा पनि महान कामहरु गरेको थाहा लाग्छ। पिछडिएको गोर्खा समाजलाई शिक्षाको उज्यालोतिर डोहोर्याएर आफ्नो प्रयासमा प्रयात उपाध्यायले गोर्खा समाजलाई शिक्षाको महत्व सम्झाउँदै नारी शिक्षालाई विशेष महत्व प्रदान गरेका थिए। उनले त्रिसको दसकको शुरुमा नै आफ्नो मूल कर्मथलो बिहाली माजगाउँमा घर घर पुगेर छोरी-चेलीलाई विद्यालय पढाउन प्रोत्साहित गरेका थिए। बाल्य विवाहको चलन भएको त्यस समयमा समाजका विवाहित र बाल बिधुवाहरु पाटी खरी र हातमा पुस्तक लिएर विद्यालय जान शुरु गर्नु एक वैप्लविक घटना भन्न सकिन्छ। त्यसैले छबिलाल उपाध्यायलाई एकजना प्रगतिशील र उदार दृष्टि सम्पन्न व्यक्ति थिए भन्दा कुनै फरक पर्दैन। आजीवन जाति, भाषा र धर्मको घेरोलाई नाघेर सबैको हित र मंगलको लागि काम गर्ने छबिलाल उपाध्यायको लोकप्रियता त्यतिबेला केवल गोर्खा समाजमा मात्रै होइन अन्य समूदायमा पनि उतिकै फैलिएको थियो।
देशप्रेमी छबिलाल उपाध्यायले भारतमाताको लागि गरेको महान त्यागको निम्ति उनलाई स्वीकृति स्वरूप १९७२ सनको ३० सेप्टेम्बरको दिन उषा नगरी तेजपुरस्थित त्यागवीर हेम बरूवा स्मृति भवनमा सार्वजनिक रूपमा अभिनन्दन गरेका थिए। त्यस अभिनन्दन क्रार्यक्रममा उपस्थित हुन असमर्थ भएकोमा पद्मभुषण उपाधिले सम्मानित कवयित्री नलिनीवाला देवी, स्वाधीनता संग्रामी लीलामणि फुकन, पुष्पलाल दास आदि जस्ता असमका स्वनाम धन्य व्यक्तिहरुले दु:ख प्रकट गर्दै उनलाई पत्र प्रेषण गरेका थिए। १९७३ सनको ११ अगष्टको दिन अर्को एउटा समारोहमा तत्कालीन मुख्यमन्त्री शरद चन्द्र सिंहले छबिलाल उपाध्यायलाई भारत सरकारको भएर स्वाधीनता संग्रामको 'ताम्र पत्र' प्रदान गरेका थिए।
भारतले स्वतन्त्रता लाभ गरेपछि पनि बाबु छबिलाल उपाध्यायले अविराम रूपमा समाज सेवाको काममा संलग्न रही निस्वार्थ रूपमा काम गरि रहे। चीनको भारत आक्रमण जस्तो देशको संकटको घडीमा उनले समग्र बिहाली अञ्चल र त्यहाँका छेउछाउका मानिसहरुको मनमा देश प्रेम र साहस भर्ने काम गरेका थिए। समाजबाट रूढिवादी, कुसंस्कार र अन्धविश्वास आदि निर्मुल जस्तो महान काममा सक्रिय रूपमा संलग्न रहने एकजना समाज सुधारक, प्रगतिशील व्यक्तित्व तथा निर्भीक स्वतन्त्रता संग्रामी बाबु छबिलाल उपाध्यायको अं १९८० सनको २४ जनवरीको दिन ९७ वर्ष उमेरमा निधन भएको थियो।
संग्रह: विप्लव चिमरीया।
Post a Comment